माओवादीको टाउको ल्याउनु झोलाभरी पैसा लानु भन्ने पुर्व गृहराज्यमन्त्री कँडेल भारतीय नागरिक भएको पुष्टि

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं, ५ कात्तिक ।

पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ । नेपाली कांग्रेसका नेता समेत रहका कँडेल भारतीय नागरिक भएको एक तथ्यले खुलाएको हो ।

भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उनी त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । उनले भारतीय नागरिककै रूपमा शपथ पनि खाएका छन् । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा नेपाल प्रहरीको सिआइबीले अनुसन्धान गरिरहेको छ ।

उत्तरप्रदेश, महाराजगन्जको ठुठीबारीस्थित राधादेवी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्षका लागि कँडेल चुनाव लडेका थिए । सन् २०१६ मा भएको चुनावमा उनी असफल भए पनि गत वर्ष भएको चुनावमा भने उनी निर्वाचित भएका थिए । निर्वाचित भएलगत्तै हिन्दी भाषामा शपथ खाँदा कँडेलले आफू भारतको ३३ कसाया रोड, बेतिया हाता, जनपद गोरखपुरको बासिन्दा भएको व्यहोरा उल्लेख गरेका छन् । आफूले दिएको विवरण गलत भए भारतको संविधानअनुसार कारबाही भोग्न तयार रहेको स्वघोषणा पनि उनले शपथमा गरेका खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशीत छ  ।

कँडेल आफैँले भारतीय नागरिक घोषणा गरेर उत्तरप्रदेशको कलेज सञ्चालक समितिको अध्यक्षका रूपमा शपथ खाएको विषयमा अख्तियारमा उजुरी परेको छ । अख्तियारले यो विषयमा अनुसन्धान गर्न निर्देशन दिएपछि नेपाल प्रहरीको सिआइबीले अनुसन्धान टोली खटाएको छ । सिआइबीको टोली स्थलगत अनुसन्धान गर्न गोरखपुर पुगेर फर्किएको छ । कँडेलले भारतीय नागरिकका रूपमा भारतीय कानुनअनुसार शपथ खाएको प्रमाण पनि भेटेको छ ।

सिआइबीको टोलीले संकलन गरेको विवरणअनुसार कँडेल भारत उत्तरप्रदेश, महाराजगन्ज जिल्लाको ठुठीबारीस्थित राधादेवी इन्टरकलेजको आर्य विद्या प्रसार समितिको अध्यक्ष भएको स्पष्ट भएको छ । सन् २०१८ को डिसेम्बरमा भएको निर्वाचनमा उनी अध्यक्षमा निर्वाचित भएका हुन् । हाल उनी समितिको अध्यक्षकै हैसियतमा बहाल छन् ।
कँडेल माओवादी द्धन्द्धकालमा माओवादी विरुद्ध कडा आलोचक थिए । उनले तत्कालिन माओवादी नेताका टाउको ल्याउनु झोलाभरी पैसा लिएर जानु भन्ने अभिव्यक्ति दिएका थिए । त्यसैका बदलामा उनीमाथि माओवादीले गोली समेत प्रहार गरेको थियो ।