अरुको होइन पहिले हामीभित्रको धुलोमैलो हेरौं : प्रचण्ड

मूलखबर संवाददाता
चितवन, ३० असोज ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अरुको आलोचना गर्नु भन्दा पहिला आफूभित्रको धुलोमैलो सफा गर्नुपर्ने बताउनुभएको छ ।

नेकपा चितवनको आयोजनामा दशैं, तिहार, छठ, नेपाल संवत लगायतका चाडपर्वको शुभकामना आदान प्रदान एवम् चियापान कार्यक्रममा बोल्दै प्रचण्डले भन्नुभयो पार्टीभित्र स्वार्थीतत्व हावी हुन लागको छ यसलाई बेलैमा चिनेर सफा गर्नुपर्छ ।

प्रचण्डले कम्युनिष्टहरुको हकमा सत्तामा नपुगुन्जेसलसम्म इमान्दारिता पैदा हुने र सत्तामा गएपछि इमान्दारिता हराउदै जाने प्रवृति देखिएको भन्दै त्यसबाट नेकपा अछुतो नरहेको बताउनुभयो ।

हामीमा धुलोमैलौ लागेको छ, पहिले हामीभित्रको धुलोमैलो हेरौु, उहाँले भन्नुभयो जनयुद्ध र जनआन्दोलनको बेला म कस्तो थिए एकता भएपछि म कस्तो सोच्न र गर्न थालेको छ भन्ने हेरे पुग्छ । अहिले क्यान्सर चै भएको छैन, ग्यास्ट्रीक र अल्सर मात्र भएको छ , बेलैमा उपचार गरौ प्रचण्डले पार्टीभित्र देखा परेको अनुशासनहिनता र निराशातर्फ संकेत गर्दे भन्नुभयो ।

अहिलेको अवस्थामा आइपुग्न धेरै मिहिनेत र योगदान भएको भन्दै प्रचण्डले एकता प्रदर्शन गरेर नै दुईतिहाइको अवस्थामा आइपुगेको बताउनुभयो । उहाँले भन्नुभयो चितवनको नेकपाभित्र अराजकता र अस्तव्यस्ता तथा प्रतिगामीहरु आएर खेल्ने ठाँउ हुने त हैन भन्ने चिन्ता पैदा भएको छ । चितवनमा आफ्नै पार्टीभित्र एकले अर्कालाई हराउने प्रवृति देखिएको उहाँले बताउनुभयो । रुसको सोभियत संघको पतन कम्युनिष्ट पार्टीभित्रै बिकसित स्वार्थी र गुटवादी चिन्तनका कारण भएको भन्दै नेपालमा पनि त्यस्तो खतरा रहेको तर्क गर्नुभयो ।

केहि समयदेखि देशमा संघीय लोकतान्त्रीक गणतन्त्रविरोधी गतिविधि भइरहेको भन्दै कसैले हल्लाएर हल्लिने अवस्था नरहेको बताउनुभयो । उहाँले अगाडि थप्नुभयो संघीय लोकतान्त्रीक गणतन्त्रको रक्षा र कार्यान्वयनप्रति कति गम्भीर छौ भन्ने मेरो चिन्ता हुने गरेको छ ।
कार्यक्रममा पार्टी सचिवालय सदस्य तथा गृहमन्त्री राम बहादुर थापा बादलसहितका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ ।