
मेडिकल कलेजले बढी शुल्क लिएको रकम फिर्ता गर्न अझै आनाकानी
मेडिकल कलेजहरूले एमबीबीएसलगायत चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीसँग मनोमानी ढंगले असुलेको शुल्क फिर्ता गर्न आनाकानी गर्दै आएका छन् । मेडिकल कलेज सञ्चालकले सरकारको निर्णयलाई बेवास्ता गर्दै तोकिएभन्दा बढी शुल्क लिएको रकम अझै फिर्ता गर्न आनाकानी गरेका हुन् । मेडिकल कलेजहरूले विभिन्न शीर्षकमा प्रतिविद्यार्थी लाखौं शुल्क लिएर एकै ब्याचबाट करोडौं रुपैयाँ उठाएका छन् । कतिपय मेडिकल कलेजले अवैध शुल्क संकलन गरे पनि विद्यार्थीले उजुरीसमेत गर्न सकेका छैनन् ।
गण्डकी मेडिकल कलेजका विद्यार्थीले भने अतिरिक्त शुल्क लिएको विरोधमा हडताल नै गरेका थिए । तर, हालसम्म कुनै पनि मेडिकल कलेजले शुल्क फिर्ता गरेका छैनन् । सरकारले कानुनी कारबाहीको दायरामा ल्याउने र मेडिकल कलेज सञ्चालकहरूको शुद्धीकरण गर्ने बताउँदै आएको छ । नेपाल मेडिकल कलेज, गण्डकी, युनिभर्सल, किस्ट मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स, नोबेल मेडिकल कलेज, देवदह मेडिकल कलेज, चितवन, नेपालगन्ज मेडिकल कलेज, नेसनल मेडिकल कलेजले बढी शुल्क उठाएको विभिन्न छानबिनले देखाएको छ ।
विद्यार्थीबाट लिएको बढी शुल्क एक महिनाभित्र फिर्ता गर्न सरकारले ६ असोजमा एक महिनाको अल्टिमेटम दिएको थियो । तोकिएको शुल्कभन्दा बढी रकम लिएका मेडिकल कलेजले एक महिनाभित्र विद्यार्थीलाई शुल्क फिर्ता नगरे सरकारले कारबाही गर्ने जनाएको थियो ।
गृह मन्त्रालयमा बसेको गृहमन्त्री रामबहादुर थापा, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहित दुई मन्त्रालयका पदाधिकारीको बैठकले ठगी गरिएको रकम फिर्ता नगरे कारबाही गर्ने निर्णय गरेको थियो ।
काठमाडौं उपत्यकाभित्र एमबीबीएस अध्ययनका लागि ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार रुपैयाँ मात्रै शुल्क लिन पाउने गरी सरकारले सीमा तोकेको छ । त्यस्तै, बीडीएसतर्फ १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ शुल्क तोकिएको छ । मेडिकल कलेजहरूले भने विद्यार्थीसँग ६० लाख रुपैयाँसम्म शुल्क लिएको सार्वजनिक भइसकेको छ ।
गण्डकी मेडिकल कलेजको हकमा गत फागुनमै एक महिनाभित्र बढी असुल गरिएको शुल्क फिर्ता गर्ने सहमति भएको थियो । तर, सो सहमति अझै कार्यान्वयनमा नआएको विद्यार्थी अनित सिन्हाले बताए ।
चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक मिलन गैरेले सरकारको निर्णय मेडिकल कलेजहरूले नमानेको बताए । उनले भने, ‘सरकारले मेडिकल कलेजहरूले बढी असुलेको शुल्क फिर्ता गर्न भने पनि मानेनन् । उल्टै फिर्ता नगर्ने धम्की दिइरहेका छन् ।’
उनले भने, ‘मेडिकल कलेज सञ्चालकले शुल्क फिर्ता नदिने भन्नुहुन्छ । उहाँहरूले त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्बाट निर्णय गराऔं भन्दै आउनुभएको छ । शुल्क फिर्ता त परैको कुरा हो ।’किस्ट मेडिकल कलेजले एमबीबीएस चौथो ब्याचबाट झन्डै ६ देखि ७ करोड रुपैयाँ बढी लिएको पाइएको छ । यस्तै, तेस्रो ब्याचबाट ४ करोड ८६ लाख बढी असुलेको विद्यार्थीको गुनासो छ ।
गण्डकी मेडिकल कलेजले तोकिएभन्दा ८ करोड बढी र युनिभर्सल मेडिकल कलेजले ९ करोड ९० लाख बढी रुपैयाँ असुलेको विद्यार्थीले गुनासो गरेका छन् । यस्तै, नेसनल मेडिकल कलेजले ९ देखि १० करोड रुपैयाँसम्म बढी लिएको पाइएको छ । तोकिएभन्दा ८ करोड रुपैयाँ बढी लिएको विद्यार्थीको भनाइ छ । चितवन मेडिकल कलेजले १० करोड रुपैयाँ बढी असुलेको पीडित विद्यार्थीको गुनासो छ । मेडिकल कलेज सञ्चालकहरूले बढी लिएको शुल्क फिर्ता नगर्ने उद्घोष गरेका छन् । मेडिकल शिक्षा पढिरहेका विद्यार्थीहरूमार्फत उनीहरूले शिक्षा मन्त्री, गृहमन्त्रीको निर्णय नमान्ने धम्की दिएका खबर राजधानी दैनिकमा छ ।
