मेरो देश महान् छ भन्न किन नसक्ने ?
त्यसो त वकवासहरू नहुने हो भने सत्यहरू एक्ला हुन्छन् । ब्युँझेकाहरू नहुने हो भने सुतेकाले शाासन गर्दछन् । सबभन्दा कठिन सुतेकाहरूको शासनमा हुन्छ । तिनीहरू कानमा शंख बजाउँदा पनि उठ्दैनन् । नउठेर शासन गर्नेको विधिमा उठ्नु अपराध हो । उठेकालाई सुतेर शासन गर्नेको शरीरमा पालिएका जुम्राले उठेर देश चलाउन खोजनेहरूलाई प्रश्न गर्दा लोकतन्त्र नहल्लिनुपर्ने हो, तर हल्लिन्छ । किनकि हामी जुम्राशासित मानसिकताका जदौ–जदौ भन्न सिपालु खेताला हौं । एसएलसीमा नेपालको मार्कसिटको पत्यार नलागेर भारत छिरेको एक जन्ड केटो के भन्छ, हामी त्यसैका पछाडि दौडिन्छौं ।
लोकतन्त्र र गणतन्त्रको दुई चुच्चे समोसा नखाई ननिदाउने बानी परेको एक भारतीय भुइँफुट्टाको कथाले हामी वशीभूत हुन्छौं र माटोलाई छोडेर खाडी गएकाहरू श्रीमतीलाई तिनका नाउँको जल अर्पिन उर्दी लगाउँछौं । हामीलाई जादु चाहिएको छ । जादु र टुनामुनाका केही औतारी छिनमै हाम्रा दिलमाथि नियन्त्रण गर्छन् र माटोलाई सराप्ने अर्ती दिएर हामीलाई पंखामा झुन्ड्याउँछन् । हामी खुसीले झुन्डिन्छौ र भन्छौं– देशले मलाई बर्बाद पार्यो । आजको दिनमा हामीभन्दा दुःखीहरूको देश इथियोपिया नियममा चल्छ, हामीभन्दा गरिब र अव्यवस्थाको देश । त्यहाँका नागरिक पनि छिमेकी देशमा कुल्ली काम गर्दछन्, तर तिनीहरू छाती तानेर भन्छन्– ‘मेरो देश महान् छ ।’
सिरियामा महायुद्ध छ, जनता रुसी र अमेरिकी खेमामा विभाजित छन् । केही देशैबाट लखेटिएका पनि छन् । जो लखेटिए तिनीहरू छिमेकी देशको शरणार्थी क्याम्पमा भोकै छन् । अंगभंग, भोकै र कुपोषित, तर तिनैले राज गरेको देशको राष्ट्रिय धुन बज्दा ती छाती तानेर जुरुक्क उठ्छन् र भन्छन्– ‘मेरो देश महान् छ ।’ ती रेडक्रसको ज्याकेटमा आउने कार्यकर्ताले तिनका देशका शासकमाथि लगाउने अफवाहपूर्ण वकवासको डटेर प्रतिवाद गर्छन् र भन्छन्, यो मेरो देशको आन्तरिक कुरा हो । हामीमाथि बज्ने विदेशी माइक मुर्दावाद भन्दै उनीहरू भोका क्याम्पको सिरानमा आफ्ने देशको झन्डा गाड्छन् । तिनले सीमाका कथाहरू बराजुका बहादुरीले उठाइएका परिवर्तनका गाथा क्याम्पमा जन्मेका छोराछोरीलाई सुनाउँछन् र तिनका ख्याउटे शरीरमा देश भरिदिन्छन् ।
त्यसकारण अमेरिका र रुस– जसले जताबाट चपाए पनि आज मानचित्रमा सिरिया छ र सबभन्दा बढी शरणर्थी क्याम्पमा हुर्किंदै गरेको भावी पुस्ताको दिलमा बलियो सिरिया छ । देशै छोड्नेहरू भेनेजुएलामा पनि छन् । ती डुंगाबाट भेनेजुएला छोडेर अर्को देश जान्छन्, तर तिनका डुंगामा झुन्ड्याइएका ससाना स्पिकरमा भेनेजुएलाको राष्ट्रगान बज्छ । ती अर्को देशको गिरफ्तारीमा परेर हत्कडी नभिरुन्जेल छाती तन्काउँदै आँखा टिलपिल टिलपिल पारेर भोकै देश गाउँछन् । तिनका डुंगाबाट कैयौं बालबालिका खसेर निलो समुद्रमा बेपत्ता भए, तर डुंगामा बाँधिएको त्यो स्पिकर कहिल्यै खस्दैन, किनकि त्यो स्पिकरमा बज्ने राष्ट्रिय धुन प्रत्येक भेनेजुएलाका नागरिकका लागि आफ्नो सन्तानभन्दा माथि र अमूल्य छ ।
त्यसकारण अमेरिकाको नाकैमुनि सुन समान तेलको थुप्रो बोकेर अमेरिकाको नाकैमुनि भेनेजुएला भन्ने देश ज्युँदो छ । देश हल्लिनु हुँदैन । देश हल्लाउन दिनु पनि हुँदैन । हल्लिएको देश सिक्किम हो । ढालिएका कानले बर्बर छिमेकीलाई आमन्त्रण गर्ने कुरा अनिवार्य प्रकृतिको सिद्धान्तबाट हामी विमुख छैनौं । हामी मनकारी अवश्य छौं । हामी संवेदनाको ज्वारमा जरुर हल्लिन्छौं, त्यसकारण पनि जानी–नजानी थापिएका बल्छी र पासोमा हामी आफैं फस्छौं । जब फसिन्छ, जति कोकोहोलो गरे पनि उपाय हुँदैन ।
त्यसो त हामी कहिल्यै गुलाम भएनौं र मुक्त हुनै परेन । तर, हामी गुलाम नभएको कारण पनि हामीले मुक्त हुने चेष्टा पनि गरेनौं । हामीलाई प्रत्येक गफमा हामै देशको दाँजोमा अरू अगाडि भएको मन पर्दछ । हामीले सगरमाथाको फुर्ती लगाउन जानेनौं, हाम्रो नेताको प्रशंसा गरेनौं, बुद्धको र जानकीको कथा गाएनौं र हामीले अरूकै कथा गायांै । त्यसकारण हामीलाई अगाडि बढ्ने लालसा कहिल्यै जागेन । अनि अगाडि जान आँट वा रहर कहिल्यै गरेनौं ।
सायद हामीले राज्यको परिभाषा बुझेनौं । कर तिर्दातिर्दा बिरामी आमालाई सिटामोल किन्नका लागि पैसो पठाउन नसकेको डिभीवाला छोराको दशालाई आफ्नो आँगनमा उभ्याएर देश हुनुको अर्थ खोजेनौं । हामीले प्रत्येक बिन्दुमा राज्य छल्ने प्रयत्न गर्यौं । तर, हामीले के बुझेनौं भने हाम्रा प्रतिनिधिको दिमागमा पनि हाम्रै मनोदशा छ । हामीले हाम्रा भ्रष्टाचारी भाइहरूलाई कोटमा उभ्याएर मौलोको अगाडि हाजिर गर्ने हिम्मत गरेनौं । बरु हामी हाम्रै खुन हो भनेर नुनिला आँसुले लतपतियौं ।
त्यसकारण भ्रष्टाचारको आरोप प्रमाणितहरू जेलबाट छुट्दा वहिष्कृत भएनन्, बरु तिनका सय कदममा निर्बलिया फूलका थुँगामाथि परे । अनि हामीले तिनकै कीर्ति पढ्यौं वा पढायौं । राज्यलाई ढाँटेको र फाइल साटेको भन्दा हाम्रा छोराछोरीलाई गाउँ आउँदा दिएको एक कुड्को पीपलगेडीले हामीलाई बेस्मारी कुँड्यायो । हामी तिनका भयौं, अर्थात् हामी देशका भएनौं । माने पनि नमाने पनि हाम्रो झन्डा र संविधान हाम्रो पछिल्लो आर्जन हो । यो नमान्ने छुट चाहियो भन्नेहरू पनि हाम्रा बीचमा छन् । तिनीप्रति कुनै गुनासो होइन, तर त्यसो भन्नेहरूले पनि देश नबिर्सियुन् । देश माटो बोक्न भिरबाट लडेको गोरुको छाला होइन ।
योसँग भूगोल छ, विधि छ र हामी नागरिक छौं । यो छालमाथिको डुंगाजस्तै छिनछिनमा हल्लियोस् भनेर कामना गर्नेहरूबाट यसलाई बचाआंै । यसले परिकल्पना गरेका संस्थाहरू हाम्रा गहना हुन् । तिनमा फोहोर लागेको हुन सक्छ, यो मान्न सकिन्छ । तिनलाई पखालौं । तिनलाई सल्काउने मनसायले देशै खरानी बनाउनका लागि गरिने प्रत्येक षड्यन्त्र नेपाल र नेपालीका लागि गरिएको अर्को गम्भीर धोका हुन् । यसो नगरियोस्, जसले गरे पनि ध्यान आकृष्ट गराउने नाममा गरिने कुनै पनि अराजकता २१ औं शताब्दीमा असुहाउँदिला विषय हुन् । त्यसले देश चिन्दैन । विरोधको गीत मात्रले मुलुकको उत्थान हुँदैन ।
देश बनाउन काउलो प्रशंसा मात्र होइन, काउछो प्रश्न पनि निल्न सक्नुपर्छ । देश कुनै गैरसरकारी संस्थाको पपुलर हाकिमले बनाउने होइन, उसले त घचघच्याउन र देखाउन मात्र सक्छ । हिँड्ने राजनीतिज्ञ र राजनीति नै हो । नेतृत्व भगवान् हुँदै होइन, तर तिहारको लंगुरबुर्जामा बाजी थापेर पनि नेतृत्व बन्दैन । हो, हामीले चाहेको नेतृत्व हामीले चाहेजस्तो बन्न सकेन । सही हो । तर, हामी आफैंले पनि यसको निगरानी गरेनौं । यसो नहुनुमा नेतृत्व जति जवाफदेही छ, हामी नागरिक पनि त्यति नै जिम्मेवार छौं । जसरी पनि आर्जन हाम्रो सिद्धान्त हो । हामी राज्यलाई ठग्दा बहादुर बनेको ठान्छौं । यसले राज्यलाई कमजोर मात्र बनाएको छैन, हाम्रा प्रश्नहरूको वजनलाई पनि हलुका बनाइदिएको छ । प्रश्नको हैसियत कमजोर भएपछि स्वाभाविक हो, तिनको उत्तर पनि ठिनामिना नै हुन्छ । हौसिएर सामाजिक सञ्जालमा कहिलेकाहीँ आउने बाढीका प्रश्नमा तैरिने जोसुकै होस्, मुलुकको बेइज्जत गरेर सोधिने प्रत्येक प्रश्न निषेधयोग्य प्रश्न नै हुन् ।
नेतृत्व कमजोर होस् वा नहोस्, सरकारको कर्मचारी प्रधानमन्त्रीभन्दा जान्ने हुन सक्छ । जान्ने छु भनेर उसले प्रभानमन्त्री चलाउन खोज्नु हुँदैन । एउटा कर्मचारीले हाजिर छोडेर, डिउटी गुमाएर सरकारका विरुद्ध अनशनको धम्की नेपालमा मात्र सम्भव छ । त्यति जागिरको राजीनामा गर्न नसक्नेले देशका लागि मरिदिन्छु भन्ने ठाडो रत्यौली आधुनिक जमानाको भव्य मजाक हो ।
म कुन देशको नागरिक हुँ भन्ने भेउ नपाउनेले हाम्रा कोठाका चारपाटे भाँडामा चलाउने समानान्तर अदालत हाम्रो सार्वभौमिकताको फुस्कदै गरेको गाँठो हो । त्यही चलाउ, कसैले चलाउ, नेपाली नागरिकले चलाउ र माटोसँग जोडिएकाले चलाउ । तर, हामी सक्दैनौं, किनकि हामीलाई हाम्रो पुन्पुरो प्यारो छ । तर, ऊ सक्छ किनकि उसले ओडेको विदेशी झन्डाप्रति उसलाई सम्पूर्ण हिसाबले विश्वास छ ।
त्यसो त राजा रहेनन् भनेर राजाकै नाम राखेर राजा बन्न सकिन्छ कि भन्ने मनोरोगी पनि बाटाहरूमा भेटिन्छन् । तिनको प्रश्न सही हुन सक्छ, तर दुनियाँले देखेको विधि लज्जाको छ । तिनले सोधे भनेर आकाश खसेको ठान्नु पर्दैन । प्रत्येक बिहान कागहरू कराउँछन्, रातभर हुटिट्याउले खुट्टा माथि फर्काएर सुतिरहन्छ । सबैलाई थाह छ, तत्काल कुनै प्रलय हुँदैन । बाटोमा झ्याउँकिरी रोयो भनेर देशको ओठ सुक्नु हुँदैन । देश अर्कै चिज हो । यो सामाजिक सञ्जालले बनाउँदैन । यसमा लाखौं मनहरू हुन्छन्, आक्रोश सही दिलदेखिका सम्बन्धहरू हुन्छन् र सबैभन्दा ठूलो विपद्को बेला अपेक्षाको एक सानो दियो हुन्छ । जसको भरोसाले मृत्यु जितिन्छ, यसलाई कुनै पनि नाममा निभ्न नदिऊँ । जय देश ।- समाचार दैनिक डटकमबाट साभार गरिएको