तीनदिने आँखा शिवीरमा ४४८ जनाको निशुल्क उपचार, ९८ को शल्यक्रिया

मूलखबर संवाददाता
कालिकोट,

नेपाल नेत्रज्योति संघ एवं आँखा उपचार केन्द्र कालिकोट र घारिपाटन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा आयोजना गरिएको तीनदिने निःशुल्क आँखा शिविरमा ९८ जनाले आँखाको ज्योति पाएका छन् । बिहीबारबाट सुरु भएको तीनदिने शिविरमा मोतीबिन्दु, मासु पलाएको लगायत रोगको निःशुल्क शल्यक्रियालगायत आँखासम्बन्धी सम्पूर्ण उपचार निःशुल्क प्रदान गरिएको हो । तीनदिने निःशुल्क आँखा शिविरबाट जिल्लाभित्र र बाहिरका ४४८ जना आँखाका बिरामीले उपचार पाएका छन् । ९८ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

जिल्लामा निःशुल्क स्वास्थ्य शिविरबाट यति धेरै बिरामीको संख्यामा उपचार तथा शल्यक्रिया भएको यो दोस्रोपटक हो ।
डाक्टर इलिया श्रेष्ठका अनुसार शिविरमा यसभन्दा ६ महिनाअघि पनि ४ सय जनाको शल्यक्रिया गरिएको थियो । उनका अनुसार अरु जिल्लाभन्दा कालिकोटमा कमै उमेरमा मोतिया बिन्दु भएका बिरामी भेटिएका छन् । २७ वर्षदेखि माथिका लाई मोतियाबिन्दु भएको भेटिएको छ ।