उज्यालोको खोजीमा संघर्षका पाइलाहरु पढेपछि…

सन्तोष पौडेल

२०५२ फागुन १ देखि वर्गविहिन समतामुलक समाजको परिकल्पना गर्दै नेपाली धर्तीमा उदाएको महान जनयुद्धले नेपालबाट २ सय ४० वर्षे  सामन्ती राजतन्त्रको जरोकीलो हल्लाइदियो र १९ दिने जनआन्दोलनसहितको बलमा राजतन्त्रको स्थान गणतन्त्रले लियो । जनयुद्ध विशाल र विहंगम अनुसन्धान केन्द्र बन्यो र अध्ययन सामग्री तयार गर्नेहरुलाई अद्भूत विश्वविद्यालय बन्यो । सामाजिक र सांस्कृतिक रुपमा नसोचिएका परिवर्तनका मानकहरु स्थापित गर्न जनयुद्ध सफल रह्यो  । सकार र नकार दुबैलाई एकै साथ बोकेर जनयुद्धले भिमकाय पहाड चढ्यो कति नकारहरु छाडिए त कति सँगै पनि टाँसिएर आए ।

 

नवलपरासीकी खिमा रिजालद्धारा लिखीत र भुँडिपुराँण प्रकाशनद्धारा प्रकाशित उज्यालोको खोजीमा संघर्षका पाइलाहरु त्यही जनयुद्धलाई चिनाउने र स्थापित गर्ने एक साहित्यीक कृति हो । पुस्तक पढिरहँदा जनयुद्धको त्यो समग्र तस्वीर आँखा अगाडि आउँछ । विरता र वलिदानका गाथाहरु, समाजमा हेपिएका, थिचिएका, पेलिएका र दबाइएका वर्ग, व्यक्ति र समुदायहरुले देखाएका विरता, सौर्य, साहस, वलिदान र किर्तिमानका कथाहरु र विशेष गरेर महिलाहरुको साहस र विरतालाई पुस्तकमा अत्यन्तै सुन्दर ढंगले प्रस्तुत गरिएको छ ।

लेखिकाको परिवेश र कार्यक्षेत्र तथा कार्यावधि त्यति फराकीलो नभएपनि पुस्तकले सिंगै नेपालको चित्र उतार्न सफल देखिन्छ । पुर्वमा दोलखाको गौरीशंकरदेखि पश्चिममा कालिकोटको महिलाहरुको विद्रोह र प्रतिरोध तथा हतियार कब्जाका सत्य कथाहरु पुस्तकले समेटेको छ । चितवनको भरतपुरमा हतकडि सहित प्रहरीको हिरासत तोडेर भाग्न सफल तारा कुमाल देखि गोरखाको सदरमुकाममा रहेको जेलमा बन्दी जिवन विताइरहेका ६ जना महिला योद्धाहरुले कलात्मक र विरतापूर्ण जेल ब्रेक गरेको घटना पढ्दा जुरुक जुरुक बनाउँछ भने जिउँदै आँखा झिकेर आगोमा जलाइएकी कुमारी बुढाको कथा र बुटबलमा माओवादीलाई आश्रय दिएकै आरोपमा तातोपानीमा चोबलेर यातना दिँदा पनि रत्तिभर नगली क्रान्तिको पक्षमा दृढतापुर्व उभिएकी आमाको कथाले आँङ नै सिरींग बनाउँछ । महिला नेतृ देवी खड्कामाथि गरिएको अत्याचार, परिवारले गरेको विद्रोह, सामना परिवारकी कलाकार तथा कुशल नृत्यंगाना शारदा श्रेष्ठलगायतको सहादत, एकै घरका ५ जनाले शहादतवरण गरेको सुमित्रा घिमीरेको परिवारका कथालगायतका घटनाहरुले वर्ग दुश्मनविरुद्ध आगो ओकल्न मन लाग्छ ।

 

पुस्तकमा जनयुद्धको थालनिका दिनदेखि करिब समापनको दिनसम्मका महत्वपूर्ण फौजि कार्वाही, माओवादी जनशैलि र कार्यशैली, भुगोलमा काम गर्ने र सेनामा काम गर्ने योद्धाहरुको फरक जिवनशैली र जिम्मेवारी, तत्कालिन सेना पुलिसले घटाएका हत्याकाण्ड, यातना शिवीर र आफ्नै सहकर्मीले गरेका अन्तरघातका कथाहरु पढ्दा पुस्तकबाट आँखै हटाउन मन लाग्दैन भने लेखिका स्वयंले खेपेका मानसिक तनाव, पारिवारीक झमेला र जिवन साथीको विछोडले निम्त्याएको वियोगहरु पढ्दा मन भक्कानिएर थाम्न कठिन हुने गर्दछ । वर्ग संघर्षका जतिसुकै कठिन र जटिल मोडहरुमा नगलेका र संघर्षमा जोदाहा देखिएका कार्यकर्ताहरु अन्तरसंघर्ष र दुई लाइन संघर्षमा कसरी सिथिल बन्दा रहेछन् भन्ने तथ्य पनि उनको पुस्तकमा पाउन सकिन्छ ।

 

पुस्तकमा लेखिका रिमालले जनयुद्धमा सहभागी नारीको सङ्घर्ष र अनुभूतिलाई रोमाञ्चक र प्रभावकारी रुपमा प्रस्तुत गरेकी छिन्। ‘कालिका चौकी आक्रमण, जनयुद्धले जन्माएको गुमनाम योद्धा, रोमाञ्चक जेलब्रेक, एउटा असल साथी गुमाउँदा, सुमित्रा घिमिरेलाई सम्झँदा’ जस्ता संस्मरणमा जनयुद्धमा नारीले देखाएको अदम्य साहस, सौर्य र वीरता र कलालाई देखाइएको छ।

 

‘ऐतिहासिक सहयात्रा, तुहिएको मेरो पत्रकारिता, कहिल्यै नमेटिने युद्धको डोब, आक्रमणको निशाना र परिस्थितिको सामना गर्दा’ शीर्षकमा लेखकले युद्धकाल र त्यसपश्चातका भोगाइ र अनुभूतिलाई संगालेकी छिन्। त्यस्तै जनयुद्धमा कसरी पे्रम गरिन्थ्यो र कसरी विवाह गरेर फेरी रात पनि विताउन नपाई युद्धमैदानमा खट्नु पर्दथ्यो भन्ने कुराहरु पनि उनले पुस्तकमा खुलासा गरेकी छिन् । युद्धमैदानमै झाङ्गिएको प्रेम र विवाहको सन्दर्भ, घर परिवार, समाज र राजनीतिक क्षेत्रका मान्छेबाट पाएको चोट, धोका र विश्वासघात आदिलाई उनले हिम्मत गरेर प्रस्तुत गरिएको पाइन्छ । उनले पुस्तकमा नारीलाई स्वतन्त्र र स्वाभिमानी भएर हिँड्न खोज्दा आउनसक्ने चुनौतिहरु तथ्यसहित प्रस्तुत गरेकी छिन् । जनयुद्धको क्रममा कुनै दुव्र्यबहार भोग्न बाध्य नभएकी लेखिकाले  शान्ति प्रक्रियापछि खास गरी एकल महिलाको रुपमा भोग्न बाध्य भएका यौन दुव्र्यवहार र आपत्तिजनक व्यवहारका घटनालाई समेत खुलासा गरेकी छिन् । पुस्तकमा उनको आक्रोस, दुःख, पीडा, भावना र आशंका मिश्रीत छ । उनले जनयुद्धले लिएको आदर्श र सपनाहरु शान्ति प्रक्रिया र अहिलेसम्म आउँदा हराउँदै गएकोमा चिन्ता व्यक्त गरेकी छिन् ।

पुस्तकको भुमिकामा महिला नेतृ शान्ता श्रेष्ठले कृति र कृतिकारमाथि पुरै न्याय गर्दै शशक्त प्रस्तुति दिएकी छिन्  भने नेकपा अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध बुझ्न महत्वपूर्ण र पठनीय पुस्तक भएको भन्दै प्रशंसा गरेका छन् जसले  पुस्तक छिटो पढ्न थप प्रेरित गर्दछ ।

चितवनको सप्तगण्डकी क्याम्पसबाट शुरु भएको उनको राजनीतिक यात्रा राजधानी काठमाडौंका विभिन्न गल्ली र शहरसम्म आउँदा विभिन्न आरोह अवरोहबाट मात्रै गुज्रिएको छैन विश्रींखलीत बनाउन बाध्य भएको कुरा उनको पुस्तकमा देखिन्छ । यस संस्मरणात्मक कृतिमा लेखीकाले  आफ्नो विद्यार्थी जिवनमा भएको चिनजान, मित्रता पे्रम र त्यही सप्तगण्डकी क्याम्पसमा त्यही मान्छेको शालिक अगाडि पुगेर दिएको प्रतिक्रिया पढ्दा कुनै सिनेमाको पर्दामा हेरिरहे झै भान हुन्छ । केही सिमित पात्रहरुको बारेमा चित्रण गरेपनि उनको कृतिले समग्र जनयुद्धका शहीद र शहादतको बारेमा धारणा बनाउन मद्धत पुग्छ । भाई सुवास पण्डीत, बहिनी भुमिका पौडेल, मित्र किरण पौडेल र विकास अधिकारीलगायतका विषयमा पढ्दा मलाई मन थाम्नै गाह्रो भयो ।

अन्त्यमा कूल २२ वटा शिर्षक समावेश रहेको  पुस्तकमा उनले अहिले दुई तिहाईको बहुमतसहितको कम्युनिष्ट सरकार बन्दा बेपत्ता नागरिकहरुको स्थिति सार्वजनीकरणको लागि पहल नगरिएको गुनासो पनि व्यत्त गरेकी छिन् । कतिपय स्थानमा अलि भावना बढि पोखीएपनि पुस्तक मूल रुपमा यथार्थपरक घटनामै केन्द्रीत छ । एकल नारीको रुपमा उनको अनुभुति, अनुभव र दृष्टिकोण महिला अधिकारको पक्षमा नै देखिन्छ । पुस्तकको शुरुमा जगाएको उत्साह उत्तरार्धमा पुग्दा कम हुँदै जानु पुस्तकको कमजोर पक्ष रहेको छ । सारमा  शव्द, प्रस्तुति र सन्दर्भको हिसावले पुस्तक पठनीय छ, जनयुद्धका मुल प्रवृत्ति र महत्व बुझ्न सघाउ पुग्ने भएकाले संग्रहणीय छ ।