पत्रकार लामीछानेसहित ३ जनालाई अदालत लगियाे
पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा ८ दिनअघि पक्राउ परेका टेलिभिजन पत्रकार रवि लामिछानेको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय चितवनमा पेश गरेको छ। उक्त कार्यालयले आजै अदालतमा मुद्दा लैजाने तयारी गरेको छ।
प्रहरीले ल्याएको लामिछानेसहित ३ जनाको अनुसन्धान प्रतिवेदनमाथि अहिले आफूहरूले अध्ययन गरिरहेको प्रमुख जिल्ला सरकारी वकिल यदुनाथ शर्माले जानकारी दिनुभएको छ ।
हामीकहाँ मुद्दा पेश भएको छ प्रहरीले ल्याएको अनुसन्धान प्रतिवेदन अध्ययनपछि आजै अदालतमा मुद्दा दर्ता गर्ने तयारी हामीले गरेका छौं, उनले भने। सरकारी वकिल कार्यालयले प्रहरीको प्रतिवेदनमा पर्याप्त प्रमाण नभेटिए मुद्दा नचलाउने निर्णय गर्न समेत सक्ने छ। सरकारी वकिल कार्यालयले अभियोग दायर गर्दा प्रतिवादी लामिछानेसहित ३ जनालाई साधारण तारेखमा, धरौटीमा रिहा गर्न वा पूर्पक्षका लागि थुनामा पठाउन माग गर्न सक्छ । त्यसपछि उक्त मागको पक्ष र विपक्षमा थुनछेक बहस हुनेछ । अन्त्यमा अदालतले साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक आदेश दिन सक्नेछ ।
मुद्दा दर्ता भएपछि अदालतले उनीहरूको थुनछेक बयान लिनेछ। बयानपश्चात उनीहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउने, धरौटी माग्ने वा साधारण तारेख छोड्नेबारे बहस हुनेछ। बहस सकेपछि अदालतले आवश्यक निर्णय गर्नेछ। आफ्ना पूर्वसहकर्मी शालिकराम पुडासैनीको आत्महत्याको दुरूत्साहन गरेको भन्दै लामिछानेसहित तीन जनालाई साउन ३० गते प्रहरीले पक्राउ गरेको थियो।
माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा बाहिरिएको भिडिओपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। पुडासैनीले भिडिओमा आफूलाई आत्महत्याका लागि लामिछानेसहित तीन जनाले दुरुत्साहन गरेको आरोप लगाएका छन्।
यसअघि पुडासैनीले आरोप लगाएका तीनमध्ये अस्मिता कार्कीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।