
पुडासैनी परिवारले दिए पत्रकार रवि लामिछाने विरुद्ध किटानी जाहेरी
चितवनको एक होटलमा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीकी श्रीमती सम्झना पुडासैनीले पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएकी छन् ।
आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमार्फत उनले आत्महत्या दुरुत्साहनमा तीनै जनाविरुद्ध किटानी जाहेरी दिएकी हुन् ।
परिसर काठमाडौंका डीएसपी एवं प्रवक्ता होविन्द्र बोगटीले मृतकका परिवारको तर्फबाट तीनै जनाविरुद्ध परिसरमा किटानी जाहेरी परेको बताए ।
जाहेरी रुजु गरेर जिल्ला प्रहरी कार्यालय चितवन पठाइने प्रवक्ता बोगटीले जनाए । लामिछानेसहित तीनै जनाविरूद्ध हाल जिल्ला प्रहरी कार्यालय चितवनमा आत्महत्या दुरुत्साहनमा अनुसन्धान भइरहेको छ । चितवन जिल्ला अदालतले तीनै जनालाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको समाचार राजधानी दैनिकमा प्रकाशीत छ ।
