चिम्पान्जीका दादागिरी
एजेन्ससी, २७ असार –
चिम्पान्जीमा पनि आफ्नै प्रजातिमाथि दादागिरी देखाउने चलन रहेको हुन्छ । एक जना ब्रिटिश मानवशास्त्री रिचर्ड रेंघमले चिम्पान्जीले सबैभन्दा बढी आक्रामक र हिंस्रक आक्रमण आफ्नो प्रजातीलाई गर्ने गर्दछ ।
त्यसैले यी प्रजाति एकले अर्कालाई चुनौतीको भाषा बोल्दै लडाइँका लागि हाँक दिने र एकले अर्कालाई खोजी–खोजी युद्ध गर्ने गर्दछन् । छिमेकी जंगलमा बस्ने अन्य चिम्पान्जीका समूह खोजेर युद्ध गरी हारजितको मात्र होइन, सत्यानासको बाटोसम्म रोज्ने र त्यही तरीका अपनाउने गर्दछन्, पनि ।
चिम्पान्जीका लागि एकअर्का समूहको ज्यान लिने घटना सामान्यजस्तै हो । चिम्पान्जी सामाजिक प्रकृतिका पनि हुन्छन् । उनीहरु आफ्नो समाज र समूहमा भने एकाघर परिवार भएर बस्ने गरेका हुन्छन् । आइलागेका समस्याहरुको एकजुट भएर सामना पनि गरिरहेका हुन्छन् ।
चिम्पान्जीको आआफ्नो क्षेत्र वा राज्य हुन्छ । उनीहरु आफूहरुको सुरक्षाको निकै कडा ख्याल गर्दछन् । हरेक क्षण आफ्नो इलाकामा को आएको छ वा गएको छ भनेर निकै निगरानी राख्दछन् । यसका लागि उनीहरुले सीमा रेखा वा बर्डर बनाएका हुन्छन् ।
यो बर्डर इलाकामा निगरानी राख्नु र आफ्नो सुरक्षाको ग्यारन्टी गर्नु यिनीहरुको आफ्नो फौजी कामभित्र पर्दछन् । यसका लागि नै यिनीहरु प्रायः आफ्नो सीमा क्षेत्र नजिकै गएर निगरानी गर्ने गर्छन् ।
यसको मुख्य कारण हो, अन्य हिंस्रक जनावर त यिनीहरुको निगरानीमा पर्छन् नै, त्यस अतिरिक्त भिन्न इलाकाका चिम्पान्जी उनीहरुको इलाकामा आएका छन् कि छैनन्, त्यो अझ बढी महत्वको कुरा हुने गर्दछ । यही गतिविधिको निगरानी नै उनीहरुको सुरक्षाको मुख्य कार्य हो ।
निगरानीका क्रममा अर्को क्षेत्रका चिम्पान्जीहरु आफ्नो क्षेत्रभित्र प्रवेश गरेको पाएमा यसलाई उनीहरुको राज्य माथिको हमला ठान्दछन् । यो हमला एक साम्राज्यले अर्को साम्राज्यमाथि गरेको हमला जस्तो हुन्छ । ठूलाठूला समूहमा हुने यो लडाइँमा दल–बलको निकै प्रयोग हुन्छ ।
यतिबेला घना जंगलभित्रका यी भागहरु महाभारतको कौरव पाण्डवका कुरु क्षेत्रमा परिणत भएका हुन्छन् । पाण्डवले कौरव र कौरवले पाण्डव पक्षहरुको हत्या गरे झैं निकै हिंसा र रक्तपात मच्चिएको हुन्छ । लडाइँ त यति सम्म विभत्स हुन्छ कि बीसौं संख्यामा रहेका चिम्पान्जीले एउटा चिम्पान्जीको विभत्स हत्यासम्म गर्दछन् ।
यिनीहरुको आक्रमण गर्ने तरिका छापामार हुन्छ । छापामार शैलीमा यिनीहरुले आक्रमण गर्दछन् र आफूलाई पनि छापामार शैलीमा नै बचाउँछन् । लुकेर निकै तीब्र गतिमा आक्रमण गर्ने शैली र त्यही आक्रमणको शैलीद्वारा आफ्नो बचाउ गर्ने नै छापामार शैली हो ।
मानिसजस्तै चिम्पान्जी पनि स–साना समूहमा बस्छन् । उनीहरुको सामाजिक संरचना मानिससँग मिल्दोजुल्दो हुन्छ । एकले अर्को समूहलाई आफ्नो क्षेत्रमा प्रवेश गर्न दिदैनन् ।
वैज्ञानिकका अनुसार मानिस र चिम्पान्जीको छुट्टभिन्द भएको ६० लाख वर्ष भएको छ । यसको अर्थ हुन्छ, आजभन्दा ६० लाख वर्ष अघि चिम्पान्जी र मानिस एउटै थिए । यसले मानिस तथा चिम्पान्जीको पूर्खा एउटै भएको प्रमाणित गर्दछ ।
विकासक्रसँगै मानिस र चिम्पान्जीको ‘जिन’मा भिन्नता आउँदै गयो । प्रजाति विकासका क्रममा यी क्रमशः यसरी दुई अलग–अलग प्रजातिमा विभाजित हुन पुगे । मानिसको स्वभावसँग मिल्ने यी प्रजाति हिंस्रक र दयावान दुवै हुन्छन् ।
एकअर्को समूहका बीचमा लडाइँ हुनु पूर्व यिनीहरुले एकअर्काको विरुद्धमा जासुसी गर्छन् । संख्या कति छ पत्ता लगाउँछन् । लडाकू शक्ति कति छ आँकलन गर्दछन् । त्यसको सूचना आफ्नो समूहमा पुर्याउँछन् र लडाइँ को हार जितको निक्र्योल गर्दछन् ।
लडाइँमा आफूले जित्छु, भन्ने लागेमा विश्वासका साथ अर्को समूहमाथि आक्रमण गर्दछन् । अनुसन्धानले त यतिसम्म पनि खुलासा गरेको छ कि आफूभन्दा बलियो प्रतिद्वन्द्वी भएमा उनीहरु सम्भावित युद्धबाट पन्छिने र भाग्ने गर्दछन् । कहिलेकाहीं चिम्पान्जी मूर्ख भएको पनि देखिन्छ । स्वभावैले झगडालु हुने भएकाले चिम्पान्जी एक्लै पनि लडेको भने देखिन्छ ।
चिम्पान्जी कहिलेकाही जित वा हारको अन्दाज नगरी एकापसमा लड्छन् । यसो हुनुमा यिनीहरुमा मानिसको जस्तो मस्तिष्क विकास नहुनाले हो भनी वैज्ञानिकहरुले आँकलन गर्ने गरेका छन् । चम्पान्जीमा भएको न्यून चेतनाकै कारण अनावश्यक लडाइँगरी क्षति बेहोरिरहेका हुन्छन् ।
वैज्ञानिकहरुले तुलनात्मक रुपमा मानिसको हिंस्रक व्यवहारमा कमी आउँदै गरेको बताएका छन् । तर पनि शान्तिका नाममा मानिस सबैभन्दा बढी लडेको इतिहास साक्षी छ ।