स्थानीय निकायको निर्बाचन मंसीरमै गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड
काठमाडौं,३१ वैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारद्वारा घोषित स्थानीय चुनाव आगामी मंसीरभित्रै गर्नुपर्नेमा जोड दिएका छन् । उनले संविधान प्रतिकुल नरहेको भन्दै यसमा एकजुट हुन दलहरुलाई आह्वान गरे । उनले भने ,चुनावका लागि आवश्यक कानूनी तथा भौतिक पूर्वाधारको तयारीमा सरकार लागेको छ ।’
संसदमा उठेका प्रश्नहरुको आज जवाफ दिँदै प्रधानमन्त्री ओलीले , ‘स्थानीय तहको पुनसंरचना गर्न केही समय लाग्छ । स्थानीय निकायमा झण्डै डेढ दशकदेखि जनप्रतिनिधिविहिन अवस्था अन्त्य गर्न चुनाव जरुरी छ ।’
जनप्रतिनिधि नभएका कारण विकास निर्माणलाई राजनीतिक नेतृत्व पाउन नसकेको उनले उल्लेख गरे ।
‘आवश्यक कानूनका लागि सरकारले तयारी गरिसकेको छ । यो यसै अधिवेशनमा पारित हुनेछ । आयोगले माग गरेको सबै व्यवस्थाका लागि सरकार तयार रहेको छ,’ प्रधानमन्त्रीे ओलीले भने, ‘तोकिएको तिथिमा चुनाव सम्पन्न गर्न सबै दलहरु एकजुट हुन म हार्दिक आह्वान गर्छु ।’