नेपालको प्रचारका लागि गैरआवासीय नेपालीसँग सहकार्य गर्ने
काठमाडौं, ३० वैशाख
सरकारले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रचार–प्रसारका लागि गैरआवासीय नेपालीसँग सहकार्य गर्ने भएको छ । पर्यटन मन्त्रालयले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन गर्न गैरआवासीय नेपालीलाई परिचालन गर्ने तयारी थालेको हो । सोही प्रयोजनका लागि मन्त्रालयले बोर्ड र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच औपचारिक सम्झौताको ड्राफ्ट तयार पारेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए ।
‘ड्राफ्ट बनिसकेको छ,’ उनले भने, ‘संघका पर्यटन विभाग प्रमुख नेपाल आउनासाथ द्विपक्षीय सम्झौता हुन्छ ।’ उपाध्यायका अनुसार अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा २ निकायबाट हुने काम मन्त्रालयबाट नियमन गर्ने गरी ड्राफ्ट बनाइएको छ । सन् २०१८ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको सरकारले अभियान सफल बनाउने गरी गैरआवासीय नेपालीसँग सहकार्यको तयारी थालेको हो । कार्यक्रमलाई मन्त्रालयले ‘अतिथि देवो भव: क्याम्पेन’ नाम दिएको छ । अतिथि देवो भव: क्याम्पेनका लागि बोर्ड र संघले २०/२० लाख रुपैयाँ सिड मनी (बिउ रकम) राखी कोष खडा गर्नेछन् ।
त्यसपछि संघको सञ्जाल विस्तार भएका ७२ मुलुकमा नेपालको प्रचार–प्रसार गरी पर्यटक भित्र्याउने वातावरण तयारी पारिने उपाध्यायले बताए । मन्त्रालयका अनुसार संघकै सक्रियतामा सरकारले गैरआवासीय नेपालीलाई पर्यटन प्रवद्र्धनको जिम्मा दिन लागेको हो । सरकारले १० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०१८ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको छ । आन्तरिक समस्याका कारण पर्यटन बोर्डले द्रुत प्रचार–प्रसार गर्न नसकिरहेको अवस्थामा गैरआवासीय नेपालीसँगको सहकार्यबाट सकारात्मक नतिजा आउने अपेक्षा मन्त्रालयको छ । संघले नेपालको प्रचार–प्रसार गर्न नेपाल पर्वतारोहण संघ (एनएमए) सँग पनि सम्झौता गरिसकेको छ ।
संघ र एनएमएबीच गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्मार्फत पर्वतीय पर्यटन प्रवद्र्धन गर्ने, परिषद्मध्ये हरेक वर्ष सबैभन्दा बढी पर्यटक भित्र्याउन सहयोग गर्नेलाई पर्वतारोहण संघमार्फत पुरस्कृत गर्ने, एनआरएनएको वेबसाइट तथा प्रकाशनमा पर्वतारोहण प्रवद्र्धनलगायत सम्झौता भएका छन् । अर्थमै आन्तरिक पर्यटन कार्यविधि घुमफिर वर्ष–२०७३ सफल बनाउन सरकारी, संस्थान तथा संस्थागत निजी कम्पनीका कर्मचारीलाई अनिवार्य पर्यटन बिदामा पठाउनुपर्ने प्रावधानसहितको कार्यविधि अर्थ मन्त्रालयमा अड्किएको छ ।
स्वीकृतिका लागि अर्थमा पठाएको कार्यविधि सम्बन्धमा १५ दिन पुगिसक्दा पनि जवाफ नआएको पर्यटन मन्त्रालय स्रोतले जानकारी दिएको छ । वर्षभर करिब ६/७ लाख आन्तरिक पर्यटकलाई मुलुकको एक स्थानबाट अर्को स्थानसम्म घुमघामका लागि पुर्याउन सकिने गरी कार्यविधि बनाइएको मन्त्रालयको भनाइ छ ।
विभिन्न मन्त्रालय र निकायले आफ्ना कार्यक्रमको अनुगमनमा पठाउने कर्मचारीलाई पनि भ्रमण बिदामा पठाएर एकसाथ दुवै काम गर्न सकिने प्रावधान कार्यविधिले समेटेको छ । सन् २०१८ मा मनाइने नेपाल भ्रमण वर्षको आधार तयार पार्ने र नयाँनयाँ गन्तव्य विकास गर्न घुमफिर वर्ष फलदायी हुने मन्त्रालयले उल्लेख गरेको छ ।
enayapatrika.com बाट