विद्युत् चोरी गर्ने ४६ जनालाई कारबाही
काठमाडौं,२३ वैशाख ।
नेपाल विद्युत् प्राधिकरण रौतहट शाखाले विद्युत् चोरी नियन्त्रण अभियानका क्रममा हालसम्म ४६ जनालाई कारबाही गरेको छ ।
सो अभियानअन्तर्गत हुकिङ गरी विद्युत् चोरी गर्दै गरेको अवस्थामा २८ वटा विद्युतीय उपकरण तथा दुई हजार ५०० भन्दा बढी हुकिङ हटाइएको छ । प्राधिकरणले नेपाल प्रहरीको सहयोगमा सुरु गरेको अभियानका क्रममा विद्युत् चोरीमा संलग्न व्यक्तिहरुबाट रु दुई लाख ५० हजार जरिवाना असुल गरेको छ ।
जिल्लाको अधिकांश ठाउँमा विद्युत् चोरी हुने गरेको छ । गत चैत महिनाको अन्तिम साताबाट सुरु गरिएको सो अभियानपछि विद्युत् चुहावटमा कमी आएको कार्यालयले जनाएको छ । विद्युत् चुहावट नियन्त्रण अभियानका क्रममा पक्राउ परेका व्यक्तिउपर कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको प्राधिकरण गौर वितरण केन्द्रका प्रमुख विनोद यादवले बताए। रासस