भूकम्प पीडितसँग सोमबारबाट अनुदान सम्झौता हुने

काठमाडौ, १७ बैशाख ।

भुकम्प प्रभावित ११ जिल्लाका पीडितहरुसँग सरकारी अनुदान उपलब्ध गराउने विषयमा आगामि सोमबारबाट सम्झौता हुने भएको छ ।
राष्ट्रिय पुनन्निर्माण प्राधिकरणले आगामी सोमबारदेखि ११ जिल्लाका भूकम्प पीडितसँग घर निर्माणकोलागि अनुदान सम्झौता गर्ने तयारी गरेको हो ।

भूकम्पले अतिप्रभावित १४ जिल्लामध्ये उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर बाहेकका जिल्लामा घर बनाउनका लागि सरकारले अनुदान सम्झौता गर्न लागेको हो । हालसम्म ४५ सय घर धुरीकोलागि अनुदान सम्झौता गरिसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले घरधुरी सर्वेक्षण सकिएका ११ जिल्लामा अनुदान सम्झौता गर्न लागेको हो ।

प्राधिकरणले अनुदान रकम किस्ता बन्दीमा दिने छ । पहिलो किस्ता स्वरुप ५० हजार रुपैया उपलब्ध गराईने छ तर यसकोलागि घरको नक्सा पास भएको हुनु पर्नेछ ।
जग हालिसकेपछि दोस्रो किस्तास्वरुप ७० हजार र छाना छाउने बेलामा ८० हजार रुपैयाँ घर कूल २ लाख रुपैयाँ अनुदान दिने प्राधिकरणले जनाएको छ । सरकारी अनुदान लिनका लागि लाभग्राहीले अनिवार्यरुपमा बैंक खाता खोल्नुपर्ने छ ।