विद्यालयमा विद्यार्थी ल्याउने अभिभावकलाई सहयोग

नेपालगञ्ज, २४ चैत ।

नेपालगञ्ज उपमहानगरपालिकामा विद्यालय बाहिर रहेका बालबालिकालाई आगामी शैक्षिक सत्रदेखि विद्यालयमा प्रवेशका लागि उनीहरुका अभिभावकलाई आयआर्जनमुलक काममा सहयोग गर्न थालिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकालाई बालमैत्री नगरपालिका निर्माणका लागि विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालय भर्ना गराउने र नियमितरुपमा पढाईमा लगाई राख्नका लागि अभिभावकलाई आयआर्जनका लागि सहयोग गर्ने कार्यक्रम राखिएको नेपालगञ्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत हेमराज भुषालले जानकारी दिनुभयो  ।

उपमहानगरपालिका र युनिसेफको साझेदारी तथा एकीकृत सामाजिक विकास केन्द्रको सहजिकरणमा पहिलोचरणमा ३० जना बालबालिकाका अभिभावकलाई आयआर्जनका लागि   ११ हजार ७ सय ६३ रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरिएको छ । पहिलोचरणमा किराना पसल, चाट पसल, सिलाइकटाई र चिया नास्ता पसल सञ्चालनका लागि अभिभावकको माग अनुसार पाँच लाख १२ हजार ९० रुपैयाँ बराबरको  सामाग्री हस्तान्तरण गरिएको छ ।

यसवर्ष श्रममा संलग्न बालबालिकालाई विद्यालयमा ल्याउनका लागि एकसय जनालाई आयआर्जनमुलक कार्यक्रमका लागि सहयोग गर्ने कार्यक्रम रहेकोमा बाँकी ७० जनालाई पनि छिट्टै सहयोग गरिने एकीकृत सामाजिक विकास केन्द्रका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका र युनिसेफको साझेदारी तथा एकीकृत सामाजिक विकास केन्द्रको सहजीकरणमा गएकोवर्ष पनि ५६ जना अभिभावकलाई आयमुलक कामका लागि सहयोग गरिएको थियो ।