तेल ल्याउन प्राविधिक कारण मात्र बाँकी रहेको रक्षामन्त्रीको दावी
काठमाडौं ,१० चैत ।
उपप्रधान तथा रक्षामन्त्री भीम रावलले चीनबाट तेल ल्याउन प्राविधिक कारण मात्र बाँकी रहेको दावी गरेका छन् ।
काठमाडौंस्थित रिपोर्टस् क्लबमा भएको कार्यक्रममा रक्षामन्त्री रावलले नेपालले आवश्यकता अनुसार जुनसुकै मुलुकबाट पेट्रोलियम पदार्थ आयात गर्न सक्ने बताए ।
उपप्रधानमन्त्री रावलले भने, ‘इन्धन सम्झौता गर्न नेपाल र चीन दुबै पक्ष सहमत छन् । तेलको मूल्य , ढुवानी, कर लगायतका प्राविधिक कारण टुङ्गो लागि नसकेकोले मात्रै अहिले सम्झौता हुन नसकेको हो ।’
कार्यक्रममा मन्त्री रावलले अहिले नै सरकार परिवर्तन नहुने पनि दावी गरे । ‘सरकार परिवर्तन हुँदैन, यदि भएपनि केपी ओली कैै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्छ’ उनले भने ।
उनले नेपाल र चीनबिच भएको १० बुँदे सम्झौताले भारत पनि खुसी भएको दावी गरे । उनले भने ,‘स्वतन्त्र र सार्वभौम देशको नाताले नेपालले चीनसँग सम्झौता गर्दा भारतलाई अन्यथा लाग्नु हुँदैन । भारतले पनि अरु देशसँग सम्झौता गर्दा हामी खुसी हुन्छौ भने हामीले गर्दा पनि भारत खुसी नै हुनु पर्छ । छिमेकी समृद्ध भए भारतीय जनता र भारतलाई पनि फाइदा हुन्छ । त्यसैले भारतपनि यो सम्झौताले खुसी छ ।’