सारिँदै ३ जिल्लाका ४ बस्ती, कसरी बढ्छ प्रक्रिया ?
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा पर्ने बुजुन्डो बस्ती, गोरखाको चुमनुब्री गाउँपालिकाको देवलगाउँ र डडेल्धुराको बलौचेसहित दुई वटा बस्ती सारिने भएको छ ।
वर्षौँदेखि पहिरोको उच्च जोखिममा रहेकाले सम्भावित मानवीय तथा भौतिक क्षतिलाई ध्यानमा राखी ती बस्तीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न लागिएको विपद व्यवस्थापन प्राधिकरणले बताएकाे छ ।
“पहिरोको उच्च जोखिममा रहेका बस्तीहरूलाई जिल्ला विपद् व्यवस्थापन समितिहरूको सिफारिसबमोजिम हामीले स्थानान्तरणका लागि स्वीकृति दिएका हौँ,” प्राधिकरणका सहप्रवक्ता प्रकाश पोखरेलले भने।
अर्घाखाँचीको बुजुङ्गो बस्तीलाई फुत्बाङ्ग भन्ने ठाउँमा स्थानान्तरण गरिने प्राधिकरणका सहप्रवक्ता पोखरेलले जानकारी दिए। त्यसै गरी गोरखाको देवल गाउँलाई फिलिम भन्ने ठाउँमा स्थानान्तरण गरिने छ।
सन्धिखर्कको बुजुन्डो बस्तीका ४४ वटा घरधुरीलाई स्थानान्तरण गरिने छ।
देवलगाउँका कुल ८३ घरधुरीलाई फिलिममा स्थानान्तरण गरिने गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।
त्यसअघि चुमनुब्री गाउँपालिकाले देवलगाउँलाई अन्यत्र स्थानान्तरण गर्न सहमति दिने गरी आवश्यक प्रक्रिया अगाडि बढाउन जिल्ला विपद् व्यवस्थापन समितिलाई सिफारिस गरेको थियो।
उक्त सिफारिसबमोजिम जिल्ला विपद् व्यवस्थापन समितिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्र लेखेको थियो।
पहिरोको उच्च जोखिममा रहेको देवलगाउँमा भूगर्भविद्हरूको टोलीले गत जेठ महिनामा स्थलगत अध्ययन गरेपछि सो गाउँलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सुझाव दिएको अधिकारीहरूले बताएका छन्।
डडेल्धुराको आलिताल गाउँपालिकाका दुईवटा बस्ती स्थानान्तरण हुने प्रमुख जिल्ला अधिकनरीले जानकारी दिए। त्यहाँका स्थानीय जनप्रतिनिधिहरूले यसका लागि वर्षौँदेखि ताकेता गर्दै आएको भए पनि उदासीनता देखाइएको गुनासो गर्ने गरेका थिए।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहप्रवक्ता प्रकाश पोखरेलले लाभग्राहीहरूबाट माग आएपछि रकम दिइने बताए।
“बस्ती स्थानान्तरण गर्ने कुरा अनुमोदन भइसक्यो। अब लाभग्राहीले अनुदान लिन सक्नुहुन्छ। गाउँपालिकामार्फत् उहाँहरूले माग गर्नासाथ हामी अनुदान रकम पठाइदिन्छौँ,” बीबीसी न्यूज नेपालीसँग उनले भनेकाे खबर बीबीसीमा छ ।





