भेलबाढी सधैंभरि आउँदैन र रहँदैन, अभियानबाट जनतालाई जागृत गराऔँ : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान राजनीतिक परिस्थिति चुनौतीपूर्ण बन्दै गएको भन्दै अब चुप लागेर बस्ने अवस्था नरहेको बताएका छन्। उनले राष्ट्रिय जागरण अभियानमार्फत जनतालाई राजनीतिक रूपमा जागृत र संगठित गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
नेपाली कम्युनिस्ट पार्टी उपत्यका प्रदेश समितिद्वारा शनिबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित राष्ट्रिय जागरण अभियानअन्तर्गतको बृहत् प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले ‘भेलबाढी सधैंभरि आउँदैन र रहँदैन’ भन्ने अभिव्यक्ति दिएका हुन्।
उनले अन्तर्राष्ट्रिय परिस्थितिको चर्चा गर्दै युरोप र अमेरिकासमेत कम्युनिस्ट नारा र झण्डासहित ठूला आन्दोलनहरू भइरहेको उल्लेख गरे। विश्व राजनीतिमा देखिएका परिवर्तन र जनताको असन्तुष्टिलाई गम्भीर रूपमा बुझ्नुपर्ने उनको भनाइ थियो।
नेपालको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रचण्डले महँगी, राजनीतिक अन्योल र अनिश्चितताले जनतामा निराशा बढाइरहेको बताए। कर्मचारी, प्रहरी, व्यापारी तथा व्यवसायीसमेत त्रसित र आतंकित हुने अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले समग्रमा लोकतन्त्र र राष्ट्रियतामाथि नै खतरा बढिरहेको धारणा राखे।
यस्तो अवस्थामा पार्टी र वामपन्थी शक्तिहरू निष्क्रिय भएर बस्न नहुने उनको भनाइ थियो। जनताका समस्या र असन्तुष्टिलाई सम्बोधन गर्दै राजनीतिक चेतना अभिवृद्धि गर्न राष्ट्रिय जागरण अभियानलाई प्रभावकारी बनाउनुपर्ने उनले बताए।
प्रचण्डले शान्ति सम्झौताका पक्षधर शक्तिहरूबीच सहकार्य र विशेषगरी वामपन्थी शक्तिहरूबीच चुनावी तालमेल गरेर अघि बढ्ने विषयमा भइरहेको छलफल सकारात्मक र आशावादी रहेको पनि बताए। यसले आगामी राजनीतिक यात्राका लागि नयाँ सम्भावना देखाएको उनको भनाइ थियो।
वामपन्थी तथा शान्ति सम्झौताका पक्षधर शक्तिहरूबीच सहकार्यको सम्भावनालाई उत्साहका साथ अघि बढाउनुपर्ने भन्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई जागरण अभियानमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन दिए। साथै, जनतालाई पनि अभियानमा साथ दिन र लोकतन्त्र, राष्ट्रियता तथा जनअधिकारको रक्षाका लागि जागरुक हुन अपिल गरे।
उनले राजनीतिक परिस्थितिलाई स्थायी र अपरिवर्तनीय ठान्न नहुने उल्लेख गर्दै अहिलेको चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न जनताबीच पुगेर संगठन र जनसम्बन्ध सुदृढ गर्नुपर्ने सन्देश दिएका छन्।
कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।





