पाकिस्तानी राजदूतद्वारा नेपाल प्रिमियर लिगका प्रशिक्षक मिस्बाह उल हकलाई रात्रिभोज

मूलखबर संवाददाता
काठमाडौं, ३० कात्तिक

पाकिस्तानी राजदूतद्वारा नेपाल प्रिमियर लिगका प्रशिक्षक मिस्बाह उल हकलाई रात्रिभोज

काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत महामहिम मोहम्मद आमिर खानले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक रहेका पाकिस्तानका पूर्वक्रिकेट कप्तान मिस्बाह उल हकलाई काठमाडौंमा रात्रिभोजसहित स्वागत गरेका छन् ।

राजदूत खानले सोमबार साँझ आयोजना गरेको रात्रिभोजमा पूर्व पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा प्रशिक्षक मिस्बाह उल हक सहभागी भएका थिए ।

पाकिस्तान क्रिकेटका चर्चित व्यक्तित्व मिस्बाहले आफ्नो कप्तानीमा सन् २०१२ को एसिया कप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनकै नेतृत्वमा पाकिस्तानको टेस्ट क्रिकेट टोली सन् २०१६ मा आईसीसी टेस्ट वरीयताको शीर्ष स्थानमा समेत पुगेको थियो ।

क्रिकेट खेलले दुई देशका नागरिकबीच आपसी सम्बन्ध, मित्रता र सांस्कृतिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने राजदूत खानले उल्लेख गरेका छन् ।

पाकिस्तान र नेपालबीच क्रिकेटप्रतिको साझा रुचिले दुई देशबीचको मित्रतालाई थप सुदृढ बनाउने विश्वाससमेत व्यक्त गरिएको छ ।

एनपीएलमा सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकका रूपमा मिस्बाहको सहभागिताले नेपाली क्रिकेट र पाकिस्तानी क्रिकेटबीचको सम्बन्धलाई थप नजिक बनाउने अपेक्षा गरिएको छ ।