उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न
काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै यस वर्षको छठ पर्व आज विधिपूर्वक सम्पन्न भएको छ। तराई–मधेससहित काठमाडौं उपत्यका र देशका विभिन्न स्थानमा श्रद्धालु भक्तजनले बिहानै नदी, तलाउ, पोखरी तथा जलाशयमा पुगेर उदाउँदो सूर्यको पूजा आराधना गरेका छन्।
चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन आज व्रतालुहरूले जलाशयमा उभिएर सूर्यदेवलाई अर्घ्य अर्पण गर्दै परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन्।
काठमाडौंको कमलपोखरी, गौरीघाट, गुह्येश्वरीलगायतका स्थानमा बिहानैदेखि श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको थियो। छठ पर्वका अवसरमा जलाशय तथा घाटहरूलाई आकर्षक रूपमा सजाइएको थियो।
सूर्यको उपासना र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको छठ पर्वले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सांस्कृतिक एकताको सन्देशसमेत दिएको छ। विशेषगरी मधेसी समुदायको प्रमुख पर्वका रूपमा परिचित छठ पछिल्लो समय सबै समुदायको साझा सांस्कृतिक उत्सव बन्दै गएको छ।





