एनपीएल : विराटनगरद्वारा पाेखरा पराजित

मूलखबर संवाददाता
काठमाडौं

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको जित निकालेको छ । आज सम्पन्न खेलमा पोखराले दिएको १३३ रनको सामान्य लक्ष्य विराटनगरले १९ दशमलव दुई ओभरमा छ विकेटको क्षतिमा भेट्टायो ।

खेलमा बसिर अहमदले ३७, लोकेश बमले ३३ र इमरान शेखले १० रनको योगदान दिनुभयो। अविजित रहेका इसुरु उडानाले २५ र शेहान जयसूर्याले १७ रन बनाउनुभयो ।

पोखराका लागि बलिङतर्फ कुशल भुर्तेल र रमेश मेन्डिसले दुई–दुई तथा विपिन खत्री र धनन्जय लक्षणले एक–एक विकेट लिनुभयो । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखरा १७ दशमलव पाँच ओभरमा १३२ रनमा अलआउट भयो ।