अमेरिकाले माग पूरा गरेमा दुई दिनभित्र हर्मुज खाेल्न सकिन्छ : इरान

मूलखबर संवाददाता
काठमाडौं

अमेरिकाले आफ्ना ‘वैध’ माग पूरा गरेमा दुई दिनभित्र स्ट्रेट अफ होर्मुज पुनः खोल्न सकिने इरानले जनाएको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनका अनुसार इरान र अमेरिकाबीच मध्यस्थकर्तामार्फत हुने अप्रत्यक्ष वार्ताको आधार तेहरानले गत सेप्टेम्बरमा प्रस्ताव गरेको सातदिने योजना हुनेछ ।

इरानले सद्भावनाको सङ्केतस्वरूप उक्त योजनाको कार्यान्वयन अवधि घटाएर दुई दिनमा झारेको पनि बाघाईले बताए ।

उनले भने, “इरानका माग पूरा भएमा स्ट्रेट अफ होर्मुजमा सुरक्षा पुनः कायम गर्न र छोटो समयमै वार्ता प्रक्रिया सुरु गर्न सम्भव हुनेछ ।” यस विषयमा अन्तिम निर्णय अमेरिकी पक्षको हातमा रहेको उनको भनाइ छ ।

बाघाईका अनुसार इरानले आफ्ना माग स्पष्ट, उचित र तार्किक रूपमा प्रस्तुत गरेको छ । अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी अन्त्य गर्नुका साथै तेहरानका माग सम्बोधन नगरेसम्म कुनै सम्झौता नहुने उनले बताए । त्यसो नभएसम्म होर्मुज जलमार्ग पुनः खोल्न र त्यहाँ सुरक्षा सुनिश्चित गर्न सम्भव नहुने उनको भनाइ छ ।

इरानले युद्ध अन्त्य गर्ने र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने सर्त समेटिएको सातदिने योजना गत सेप्टेम्बर २२ मा न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष प्रस्तुत गरेको थियो । त्यसयता दुवै देशबीच उक्त प्रस्तावबारे सन्देश आदानप्रदान भइरहेको बताइएको छ ।