एनपीएल ३ मा चितवन राइनाेजमाथि सुदुरपश्चिमकाे जित

मूलखबर संवाददाता
काठमाडौं, १६ कात्तिक

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

सुदूरपश्चिमको जितमा ब्रान्डन म्याकमुलनले सर्वाधिक ४३ रन बनाए । उनले २१ बलमा ६ चौका र २ छक्का प्रहार गरे । यस्तै, इशान पाण्डेले २९ बलमा २५ रन बनाए ।

आरिफ शेखले अविजित २० रन बनाउँदा शर्फेन रदरफोर्डले अविजित २१ रनको योगदान दिए । उनले १५ बलमा २ चौका र १ छक्का प्रहार गरे । कप्तान दीपेन्द्रसिंह ऐरी भने शून्य रनमा आउट भए ।

चितवनका बलर रञ्जितकुमारले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा २८ रन खर्चिए । यस्तै, रिजन ढकाल र मौसमी ढकालले समान १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो ।