एनपीएल ३ मा डिआरएस प्रविधि प्रयाेग गरिने, के हाे डिआरएस ?
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै खेलमा ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) प्रविधि प्रयोग गरिने भएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका सम्पूर्ण खेलमा डीआरएस लागू गर्ने निर्णयसँगै खेल सञ्चालनको समय समेत संशोधन गरेको जानकारी दिएको छ ।
क्यानले जारी गरेको विज्ञप्तिअनुसार सिद्धार्थ बैंक एनपीएलको तेस्रो संस्करण आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।
प्रतियोगिताका सबै खेलमा डीआरएस प्रयोग गरिने भएपछि खेलाडीले मैदानमा रहेका अम्पायरको निर्णयमाथि पुनरावलोकनको माग गर्न सक्नेछन् । विशेषगरी एलबीडब्लू र क्याचसम्बन्धी निर्णयको समीक्षा गर्न यो प्रविधि उपयोगी मानिन्छ । डीआरएसको प्रयोगले अम्पायरको निर्णय प्रक्रियालाई थप पारदर्शी र विश्वसनीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
साथै संशोधित तालिकाअनुसार एकै दिन दुई खेल हुने अवस्थामा पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ । त्यस्तै, एक दिनमा एउटा मात्र हुने अवस्थाको खेल भने साँझ ५ बजेबाट सञ्चालन गरिनेछ ।





