सुनसान बन्याे काठमाडौं, दशैंमा कति मानिस बाहिरिए
लाखौँ सर्वसाधारण आफ्नो जन्मथलो फर्किएसँगै काठमाडौं उपत्यका सुनसान बनेको छ। सधैँ सवारी चाप र मानिसहरूको भिडभाड रहने मुख्य सडक, बजार तथा सार्वजनिक स्थलमा चहलपहल घटेको छ।
घटस्थापनादेखि नै थानकोट, जगाती, दक्षिणकाली र टोखालगायतका नाकाबाट यात्रुहरू बाहिरिने क्रम बढेको थियो। नयाँ बानेश्वर, कोटेश्वर, माइतीघर, चाबहिल, रत्नपार्क र कलंकीजस्ता व्यस्त क्षेत्रमा सवारी आवागमन न्यून बनेको छ। सार्वजनिक बिदाका कारण अधिकांश पसल तथा कार्यालयसमेत बन्द छन्।
सवारी चाप घटेपछि ट्राफिक व्यवस्थापन सहज बनेको छ। यता, खाली घर तथा बस्तीमा हुन सक्ने चोरी र आपराधिक गतिविधि नियन्त्रण गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले सुरक्षा गस्ती र निगरानी बढाएको छ।
विजयादशमी र त्यसपछिका केही दिन उपत्यका सुनसान रहने तथा कोजाग्रत पूर्णिमापछि मात्रै जनजीवन क्रमशः सामान्य बन्ने अनुमान गरिएको छ। प्रहरीले करिब ८ लाख मानिस यसपटक काठमाडौं बाहिर गइसकेको जनाएको छ ।





