संसदको दोस्रो अधिवेशन, मेरो संसदीय सहभागिता र जवाफदेहिता
प्रतिनिधिसभाको दोस्रो अर्थात् बजेट अधिवेशन आज राति १२ बजे देखि अन्त्य हुदैछ। यो अधिवेशन २०८३ बैशाख २८ गते शुरु भई १४५ दिन चलेको समयावधिमा प्रतिनिधिसभाका ६८ वटा बैठक सम्पन्न भए। यस अवधिमा प्रतिनिधिसभामा ३५ वटा सरकारी विधेयक दर्ता, २० वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन र संघीय संसद्का दुवै सदनबाट १२ वटा विधेयक पारित भएका छन्।
सल्यानको प्रतिनिधिको रूपमा यो अधिवेशनमा मैले आफ्नो जिम्मेवारीलाई सकेसम्म सक्रियतापूर्वक निर्वाह गर्ने प्रयास गरेको छु। पारिवारिक शोकका कारण सल्यान जानुपर्दा छुटेका दुई बैठकबाहेक सदनका बैठकमा नियमित र सक्रिय उपस्थिति जनाएँ। बैठकमा प्रस्तुत भएका विधेयकहरूको सैद्धान्तिक छलफल, संशोधन प्रस्ताव दर्ता तथा दफावार छलफलमा सहभागी हुँदै आफ्नो विधायिकी भूमिकालाई प्रभावकारी बनाउने प्रयास गरेँ।
रसुवा-भोटेकोशी बाढीको विनाशकारी घटनापछि प्रभावित परिवार र प्रभावित क्षेत्रको स्थलगत अवस्थासँग जोडिँदै विपद्, जलवायु परिवर्तन र जलवायु न्यायका सवाललाई संसद्मा निरन्तर उठाएँ। सदनले पनि भोटेकोशी-त्रिशूली विपद्का विषयमा विशेष प्रस्ताव पारित गर्नुका साथै हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ।
निर्वाचन सम्पन्न भएको करिब सात महिनाको अवधिमा ६ पटक सल्यान पुगेर जनतासँग प्रत्यक्ष भेटघाट, गुनासो सुनुवाइ र स्थानीय समस्याको पहिचान गर्ने काम गरेँ। सल्यानी जनताका विद्युत्, सञ्चार, खानेपानी, सडक तथा यातायात, पुल-झोलुङ्गे पुल, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, सिँचाइ, वन तथा वातावरण, वैदेशिक रोजगारी लगायतका विषय तथा प्राकृतिक प्रकोप, आकस्मिक घटना र दुर्घटनाका सवाललाई जनताको आवाजका रूपमा संसद्मा उठाएँ।
संसदीय निगरानीको भूमिकामा रहेर राष्ट्रियता, लोकतन्त्र, सुशासन र जनजीविकासँग सम्बन्धित विषयमा सरकारका नीति तथा कामकारबाहीमाथि प्रश्न उठाउँदै सही नीति र परिणामका लागि रचनात्मक खबरदारी गर्ने प्रयास पनि निरन्तर रह्यो।
संसद्को रोस्ट्रमबाट जनताको आवाज बोल्ने अवसरलाई मैले व्यक्तिगत उपलब्धिभन्दा सल्यान र समग्र नेपाली जनताको प्रतिनिधित्व गर्ने जिम्मेवारीका रूपमा लिएको छु। मेरो कामको मूल्यांकन गर्ने अधिकार र जिम्मेवारी भने अन्ततः तपाईंहरूमै निहित छ।
मलाई निरन्तर सुन्नुहुने, सल्लाह दिनुहुने, हौसला प्रदान गर्नुहुने र रचनात्मक आलोचनामार्फत अझ राम्रो काम गर्न घच्घच्याउनुहुने सम्पूर्ण बुवा-आमा, दिदीबहिनी तथा दाजुभाइहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।
अब केही दिन संसदीय समितिका काममा केन्द्रित हुनेछु। त्यसपछि संसद्को हिउँदे अधिवेशनअघिको समय फेरि तपाईंहरूको न्यानो काखमा, आफ्नै सल्यानमा बिताउनेछु।
जनताको आवाज संसद्मा र संसद्को काम जनताका बीचमा; यही मेरो निरन्तर प्रतिबद्धता हो। धन्यवाद।
(मल्ल सल्यान जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा विजयी नेकपा सांसद हुनुहुन्छ । )



