अविरल वर्षा : देशभरमा २१ जनाको मृत्यु, १४३ घर पूर्ण र ५१ घर आंशिक क्षति
बिहीबारदेखिको अविरल वर्षासँगैको बाढी, पहिरो तथा डुबानबाट देशभरमा २१ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज साँझसम्म विपद्मा परी पाँच जना बेपत्ता र पाँच जना घाइते भएका छन् ।
बाढीपहिरोबाट ७४७ परिवार प्रत्यक्ष प्रभावित भएका छन् । बङ्गालको खाडीमा उत्पन्न न्यूनचापीय प्रणालीका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भएको थियो । पछिल्लो चार दिनमा बाढी र पहिरोको जोखिममा रहेका प्रभावित जिल्लाका करिब दुई हजार नागरिकलाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ ।
उद्धार गरिएका व्यक्तिका लागि सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा स्थानीय तहमार्फत आवश्यक बन्दोबस्ती तथा राहतको व्यवस्था गरिएको छ । जाजरकोट, म्याग्दी, बागलुङलगायत जिल्लामा हेलिकप्टरमार्फत बाढी र पहिरोमा फसेका व्यक्तिको उद्धार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो । विपद्बाट १४३ घर पूर्ण र ५१ घर आंशिक क्षति भएका छन् ।
प्राधिकरणबाट विपद्को पूर्वतयारीस्वरुप अग्रपङ्क्तिमा खटिनेसहितलाई पाँच हजारभन्दा बढी र बाढी पूर्वानुमान महाशाखाबाट सम्भावित बाढी प्रभावित स्थानय बासिन्दालाई आठ लाख १४ हजार वटा एसएमएस पठाइएको प्राधिकरणले जनाएको छ ।
चार दिनमा देशभरका १८६ स्टेसनमा १०० मिलिमिटरभन्दा बढी कुल वर्षा मापन भएको छ । सबैभन्दा बढी नवलपरासी (बर्दघाट सुस्तापूर्व)को डेढगाउँमा ५४४ दशमवल दुई मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै कास्कीको पञ्चासेमा ५०० दशमलव दुई मिलिमिटर र तनहुँको अत्रौलीटारमा ४७२ मिलिमिटर वर्षा भएको छ ।



