भाेटेकाेशी बाढीबाट १ सय ८८ इन्जिनियर तथा प्राविधिक जनशक्ति गुमे, कुन आयोजनामा कति वेपत्ता ?

मूलखबर संवाददाता
काठमाडौं, २ असाेज

गत भदौ १० थते रसुवाको भाेटेकाेशीमा अचानक आएको बाढले धेरै प्राविधिक जनशक्ति गुमेकाे छ।

बाढीले रसुवा, नुवाकोट र धादिङका जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको छ । बाढीबाट आयोजनाका आवास, कार्यालय, पहुँचमार्ग, सुरुङ लगायत संरचनामा क्षति पुगेको छ । कतिपय आयोजनामा अझै खोज तथा उद्धार कार्य जारी रहे पनि ठूलो संख्यामा श्रमिक, इन्जिनियर, प्राविधिक तथा अन्य जनशक्ति सम्पर्कविहीन छन् ।

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जलविद्युत् आयोजनामा कार्यरत सयौँ जनशक्तिलाई प्रभावित बनायो । बाढी आएको २२ दिन बितिसक्दा पनि १३ वटा जलविद्युत् आयोजनामा कार्यरत ८ सय ९८ जना अझै सम्पर्कविहीन छन् ।

नेपाल इन्जिनियर्स एसोसिएसनले संकलन गरेको विवरण अनुसार सम्पर्कविहीनमध्ये १ सय ८८ जना इन्जिनियर तथा प्राविधिक छन् ।

एसोसिएसनका अनुसार सबैभन्दा धेरै इन्जिनियर तथा प्राविधिक माथिल्लो त्रिशूली-१ आयोजनाबाट सम्पर्कविहीन छन् । उक्त आयोजनाका ६० इन्जिनियर तथा प्राविधिकको अवस्था अझै अज्ञात छ ।

त्यस्तै माथिल्लो त्रिशूली-३ ‘बी’ का ४२, माथिल्लो त्रिशूली-३ ‘ए’ ३०, रसुवागढी जलविद्युत् आयोजना २५, लाङटाङ खोला २०, मैलुङ खोला ६ र चिलिमे जलविद्युत् आयोजनाका ५ इन्जिनियर तथा प्राविधिक सम्पर्कविहीन रहेको एसोसिएसनको विवरण छ ।

आयोजनागत हेर्दा २ सय १६ मेगावाट माथिल्लो त्रिशूली-१ मा ५ यस ७५ जनशक्ति सम्पर्कविहीन छन् । १ सय ११ मेगावाट रसुवागढी ९३, १ सय २० मेगावाट रसुवा-भोटेकोशी ४, २० मेगावाट लाङटाङ खोला ४२, २२ मेगावाट चिलिमे ६, ५ मेगावाट मैलुङ खोला ७, ६० मेगावाट माथिल्लो त्रिशूली-३ ए ४२ र ३७ मेगावाटको माथिल्लो त्रिशूली-३ बीमा १ सय २२ जना सम्पर्कविहीन छन् ।

लामो समयसम्म खोजी गर्दा पनि आफन्तको अवस्था पत्ता नलागेपछि केही परिवारले भने कुशको शव बनाएर अन्तिम संस्कार समेत गरिसकेका छन् ।