भोटेकोशी बाढी : ६३ शिक्षण संस्थाका साढे १४ हजार बालबालिकाको पठनपाठन अवरोध

मूलखबर संवाददाता
काठमाडौं, २ असाेज

भोटेकोशी बाढीका कारण ६३ शिक्षण संस्थाका साढे १४ हजार बालबालिकाको नियमित पठनपाठन अवरोध भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार बाढीबाट ९ हजार ४ सय ३० बालबालिका प्रत्यक्ष रूपमा प्रभावित छन् ।

मन्त्रालय, शिक्षा विभाग, प्रदेश सरकारसहित युनिसेफ र सेभ द चिल्ड्रेनको टोलीले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा संयुक्त रूपमा गरेको स्थलगत अध्ययनको निष्कर्षअनुसार कम्तीमा १ सय बालबालिकाले बाढीमा आमाबाबु दुवै गुमाएका छन् । अध्ययनमा अभिभावक, घर र विद्यालय गुमाएका बालबालिकालाई प्रत्यक्ष प्रभावित भनेर गणना गरिएको छ ।

बाढीपछि करिब ५ सय विद्यार्थी सम्पर्कविहीन छन् । उमेर नपुगेर विद्यालय भर्ना नभएका प्रभावित बालबालिकाको संख्या यकिन हुन सकेको छैन । १ हजार ३ सय ७२ विद्यार्थी बाढीपछि विस्थापित छन् ।

मन्त्रालयले तयार पारेको शिक्षा क्षेत्र प्रतिकार्य योजनाअनुसार ३४ शिक्षण संस्थामा बाढीले भौतिक क्षति पुर्‍याएको छ । ती विद्यालयका ४५ वटा भवनका २ सय ६८ कक्षाकोठा क्षतिग्रस्त छन् । भौतिक क्षति तथा असुरक्षाका कारण ११ विद्यालय पूर्ण रूपमा बन्द छन् भने ४ विद्यालय अस्थायी रूपमा बन्द छन् । ती विद्यालयका ८२ वटा शौचालय, खानेपानी आपूर्ति प्रणाली र पानीका २० वटा स्रोत बाढीबाट नष्ट भएका प्रतिवेदनमा उल्लेख छ ।

नुवाकोटको विदुर नगरपालिका क्षेत्रमा सबैभन्दा बढी भौतिक विनाश भएको प्रतिवेदनमा उल्लेख छ । त्यहाँका ३ हजारभन्दा बढी विद्यार्थी प्रभावित भएका छन्, २ सय २७ विद्यार्थी र ११ शिक्षक बेपत्ता छन् । त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, त्रिशूली कम्युनिटी, उत्तरगया बोर्डिङ र रामचन्द्र आधारभूत विद्यालय स्थानान्तरण गर्नुपर्ने अवस्थामा छन् ।

बाढीपछि विद्यालयमा अस्थायी आवास (होल्डिङ सेन्टर) निर्माण गरिएका कारण थप विद्यार्थी (अप्रत्यक्ष) प्रभावित भएका हुन् । तीन जिल्लाका २९ होल्डिङ सेन्टरमा करिब २ हजार जना बसोबास गर्दै आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ । अधिकांश होल्डिङ सेन्टरका लागि विद्यालय भवन प्रयोगमा ल्याइएको छ ।

नुवाकोटमा २२ र रसुवामा ६ सेन्टर विद्यालय भवनमै सञ्चालन गरिएका छन् । जसका कारण पठनपाठन पुनः सञ्चालन गर्न चुनौती रहेको अध्ययन टोलीले जनाएको छ । धादिङको एक विद्यालय भने पुलमा क्षति भएका कारण बन्द छ ।