दाजु र बहिनीलाइ जनयुद्दमा गुमाएका कमाण्डर सरल बागमतीका अर्थमन्त्री, काे हुन् सरल ?

मूलखबर संवाददाता
काठमाडौं, ५ भदाै

सरल सहयात्री हाल नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बागमती प्रदेशका अध्यक्ष हुन् । उनी जनयुद्धको समयदेखि नै राजनीतिमा सक्रिय रहेका छन् ।

बाल्यकालमा नै क्रान्तिकारी यात्रा थालेका उनी पूर्व माओवादी कमाण्डर हुन् । माओवादी जनयुद्धका क्रममा लडाकु शिविरमा ब्रिगेडस्तरीय विधान निर्माणको नेतृत्व गरेका उनले शान्ति प्रक्रियापछि पार्टीभित्रको संस्थागत विकासमा सक्रिय रहेर हाल प्रदेश नेतृत्व सम्हालेका छन् ।

२०३८ असोज २१ गते सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका सरल सहयात्री १८ वर्षको उमेरमै विद्यार्थी राजनीतिबाट सशस्त्र युद्धमा होमिएका थियो । सरल सहयात्री जनमुक्ति सेनाको सदस्य हुँदै ब्रिगेड कमाण्डरको जिम्मेवारी सम्हालेका थिए ।

जनयुद्धका बेला ४ दर्जन भिडन्तमा सहभागी भएका उनी २०७० को संविधान सभा निर्वाचनमा सिन्धुपाल्चोकबाट पराजित भएका थिए । २०७४ मा उनीले निर्वाचनमा भाग लिएनन् । उनी २०७९ को निर्वाचनमा भने सिन्धुपाल्चोक–१ (क)बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् ।

सामान्य परिवारमा जन्मेका उनले बाल्यकालदेखि नै समाजमा देखेका विभेद, गरिबी र राजनीतिक गतिविधिलाई नजिकबाट नियालेका उनले त्यसैलाई राजनीतिक परिवर्तनको बहसको विषय बनाउँथे । सानै उमेरमा राजनीतिक चेतनासँग जोडिएका सरल सहयात्रीले २०४८ सालमा सिन्धुपाल्चोकको मानेश्वरामा गठित बाल सङ्गठनमार्फत राजनीतिक गतिविधिमा सक्रिय हुन थाले ।

२०४९ सालमा उनी अखिल (छैटौँ) को जिल्ला सदस्य बनका उनी विद्यार्थी राजनीतिबाट सुरु भएको थियो । २०५५ सालमा उनी अखिल क्रान्तिकारीमा आबद्ध भए । देशको राजनीतिक परिस्थिति तीव्र परिवर्तन भइरहेको अवस्थामा माओवादी सशस्त्र सङ्घर्ष बढ्दो थियो । सोही क्रममा २०५७ बाट (१८ वर्षकै उमेरमा) जनमुक्ति सेनाको सिपाहीको रूपमा सशस्त्रयुद्धमा प्रवेश गरेका हुन् ।

युद्धका क्रममा उनले दाजु शम्भु पौडेल र बहिनी रीता पौडेललाई गुमाउनु पर्‍यो । शान्ति प्रक्रियासँगै सहयात्रीको यात्रा राजनीतिक र सामाजिक जीवनतर्फ अग्रसर भयो । सहयात्रीले युद्धका अनुभव, सङ्घर्ष, पीडा र सपनाहरूलाई उनले साहित्यका माध्यमबाट अभिव्यक्त गर्न थाले ।

उनका साहित्यिक कृतिहरूमा ‘क्रान्तिका कथाहरू’, ‘छापामारका गीत’ र २०७५ मा ‘शिखरको ढुङ्गा’ प्रकाशित छन्। उनको परिचय राजनीतिज्ञसँगै सङ्घर्षलाई शब्दमा उतार्ने साहित्यकारका रूपमा पनि छ । युद्धका मोर्चा सम्हालेका उनले सगरमाथा आरोहण गरे र जनमुक्ति सेनाको झण्डा सगरमाथाको चुचुरोमा पुर्‍याएका थिए।

२०७८ मा नेकपा माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षका रूपमा निर्वाचित भएका सहयात्री प्रदेशसभा सदस्य रहेर जनप्रतिनिधिको भूमिकामा काम गर्दै आएका छन्।