संसदमा मर्यादित भएर प्रस्तुत हुन रास्वपा सांसदहरूलाई सभापति लामिछानेको निर्देशन
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संसदमा अमर्यादित व्यवहार प्रदर्शन गरेकाे भनेर सार्वजनिक आलोचना शुरू भएपछि सभापति रवि लामिछानेले संसद्मा मर्यादित भएर प्रस्तुत हुन मन्त्रीहरू र पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।
पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको संसदीय दलको बैठकमा सभापति लामिछानेले मन्त्री र सांसदहरूलाई संसद्मा मर्यादित भएर प्रस्तुत हुन भनेका हुन् ।
सभापति लामिछानेले मन्त्री र सांसदहरूलाई सरकारका कामकारबाही कसरी सम्पादन गर्ने र संसद्मा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा सुझाव तथा निर्देशन दिएका थिए । सभापति लामिछानेले मन्त्री र सांसदहरूलाई निर्देशन दिएका थिए, ‘अमर्यादित गतिविधि गरेर रमिता नदेखाउनुस् । सांसद र मन्त्री दुवैले आफ्नो व्यवहार र गतिविधिमा संसदीय मर्यादा कायम गर्नुपर्छ ।’ जनताले सांसदहरूलाई प्रश्न गरिरहेको र सांसदले मन्त्रीलाई प्रश्न गरिरहेको यथार्थ आफूलाई जानकारीमा रहेको सभापति लामिछानेको भनाइ थियो । योग्यताक्रम र समावेशितालाई ख्यालमा राखेर अगाडि बढ्नुपर्ने पनि उनले बताएका थिए । उनले भने, ‘घमण्ड त्यागेर आपसी समन्वय र संवादमा काम गर्नुपर्छ । सांसद र मन्त्रीबीच सहकार्य र समन्वय भए मात्रै सरकार प्रभावकारी हुन्छ । एकअर्कासँग स्पष्ट रूपमा संवाद गर्नुस् ।’
प्रतिनिधिसभा बैठकमा बोल्ने विषयमा मुख्य सचेतक कबिन्द्र बुर्लाकोटी, सचेतकहरू प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जानकारी दिन पनि सभापति लामिछानेले निर्देशन दिएका थिए ।
सांसद र मन्त्रीले आफ्ना गतिविधि पारदर्शी बनाउनुपर्ने बताउँदै उनले भनेका थिए, ‘संसद्मा बोल्ने विषय, भ्रमण, भेटघाटलगायत गतिविधिबारे पार्टीलाई जानकारी गराउनुपर्छ ।’



