काठमाडौँमा वाइफाइ सेवासहितको रात्रि बस सेवा सुरु

मूलखबर संवाददाता
काठमाडौं, २ बैसाख २०८३

काठमाडौँमा हिजाेदेखि वाइफाइ सेवासहितको रात्रि बस सेवा सुरु गरिएको छ । हिजाे बैसाख १ गते रातिदेखि काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको भौगोलिक क्षेत्र जोड्ने बस सेवा पुल्चोकबाट सुरु गरिएको हो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले समन्वय र सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेर सेवा प्रारम्भ गर्नुभएको हो ।

आज सात वटा बस सञ्चालनमा ल्याइएका छन् । बसमा बस अगाडिको भाग, चालक र यात्रु देखिने गरी चार वटा सिसीटिभी क्यामराबाट निगरानी हुने र नियन्त्रण कक्षबाट त्यसलाई हेर्न सकिने भएकाले गलत क्रियाकलाप गर्ने वा दुव्र्यवहार गर्नेलाई तत्काल नियन्त्रणमा लिन सकिने जनाइएको छ । यात्रुको सुरक्षाका लागि काठमाडौँ महानगरपालिकाले हरेक बसमा एक जना नगर प्रहरी खटाइएको जनाएको छ ।

सेवा प्रारम्भ गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुख डङ्गोलले रात्रिकालीन सेवालाई दिगो बनाउँदै बिहानी सेवालाई प्रारम्भ गर्ने योजना रहेको बताउनुभयो । “नयाँ वर्ष सुरुआतसँगै महत्त्वपूर्ण निर्णयको कार्यान्वयन भएको छ । विगतको अभ्यासबाट प्राप्त पृष्ठपोषणका आधारमा सेवा दिन्छौँ । हिजोको अभ्यास लगानीको आर्थिक प्रतिफलमा केन्द्रित थियो, आज हामीले आर्थिक प्रतिफलमा होइन, चुस्त र गुणस्तरीय सेवालाई लक्ष्य मानेका छौँ”, उहाँले भन्नुभयो ।

कार्यवाहक प्रमुख डङ्गोलले उपत्यकामा रहेका स्थानीय तहबीच समन्वय गरेर लागत सहभागिताको ‘मोडल’ बनाउने र अबको योजना भनेको रात्रि सेवालाई दिगो बनाएर बिहानी सेवालाई प्रारम्भ गर्ने रहेको बताउनुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले सेवा सञ्चालनका लागि यहाँका स्थानीय तहबीच एकमत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबैको साझा मतका आधारमा आर्थिक साझेदारिता हुँदा नै सेवा दिगो हुन्छ । यस सेवाबाट धेरै नागरिक लाभान्वित हुने भएकाले म निकै उत्साहित छु ।“

चन्द्रागिरि नगरप्रमुख गिरीले थानकोट नाकाबाट दैनिक ५० हजारभन्दा बढी व्यक्ति काठमाडौँ आवतजावत गर्ने भएकाले यस सेवाले सहजता थप्ने बताउनुभयो । चन्द्रागिरिका पर्यटकीय स्थानहरूमा काठमाडौँबाट जान आउन सजिलो हुने भएपछि यसले आर्थिक र सामाजिक क्रियाकलापमा योगदान गर्ने उहाँको विश्वास छ ।

बुढानीलकण्ठ नगरप्रमुख अधिकारीले रात्रि बस सेवा सञ्चालनका विषयमा स्थानीयबासी धेरै खुसी रहेकाले यसलाई विकास र विस्तार गर्दै लैजानुपर्ने बताउनुभयो ।