नेपालको पर्यटन विकासका लागि गाउँ केन्द्रित हुनुपर्छ: राष्ट्रिय सभा अध्यक्ष दाहाल

मूलखबर संवाददाता
काठमाडौं, २९ चैत

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी र दिगो बनाउने हो भने अब गाउँतर्फ केन्द्रित हुनुपर्ने बताउनु भएको छ।

गाउँ पर्यटन प्रवर्धन मञ्च नेपाल (भीटोफ नेपाल) को अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ग्रामीण पर्यटनले देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको हो।

ग्रामीण पर्यटनले पर्यटक भित्र्याउने मात्र नभई स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने, साना तथा घरेलु व्यवसायलाई प्रवर्धन गर्ने र युवालाई गाउँमै अवसर प्रदान गर्ने अध्यक्ष दाहालले बताउनु भयो। होमस्टे, कृषि-पर्यटन, सांस्कृतिक तथा साहसिक पर्यटनजस्ता गतिविधिले ग्रामीण अर्थतन्त्र चलायमान बनाइरहेको उहाँको भनाइ थियो।

नेपाल प्राकृतिक, सांस्कृतिक र सामाजिक विविधताले सम्पन्न देश भएको उल्लेख गर्दै दाहालले विशेष गरी ग्रामीण क्षेत्रको मौलिकता र अर्गानिक सौन्दर्यताले अन्तर्राष्ट्रिय स्तरमा आकर्षण बढाउन सक्ने बताउनु भयो। उहाँले भन्नुभयो, “पर्यटनलाई राष्ट्रव्यापी विकासको माध्यम बनाउने हो भने गाउँ केन्द्रित रणनीति आवश्यक छ।”

ग्रामीण पर्यटनको सम्भावना हुँदाहुँदै पूर्वाधार अभाव, दक्ष जनशक्तिको कमी, बजार पहुँच सीमितता र प्रभावकारी प्रचारको अभावका कारण अपेक्षित विकास हुन नसकेको भन्दै उहाँले सडक, विद्युत, खानेपानी, इन्टरनेट, स्वास्थ्य र सुरक्षाजस्ता आधारभूत पूर्वाधारमा लगानी बढाउनु पर्नेमा जोड दिनुभयो।

अध्यक्ष दाहालले राज्य, निजी क्षेत्र र सामाजिक संघसंस्थाबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै नीति निर्माणसँगै प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनु भयो। निजी क्षेत्रलाई नवप्रवर्तन, गुणस्तरीय सेवा र अन्तर्राष्ट्रिय बजार विस्तारमा सक्रिय हुन आग्रह गर्दै सामाजिक संस्थाहरूलाई समुदाय सशक्तिकरण र संस्कृति संरक्षणमा भूमिका बढाउन आह्वान गर्नुभयो।

डिजिटल प्रविधिको प्रयोगमार्फत् ग्रामीण गन्तव्यहरूको अन्तर्राष्ट्रिय प्रवर्धन गर्न सकिने बताउँदै उहाँले अनलाइन, सामाजिक सञ्जाल, डिजिटल मार्केटिङ, ब्रान्डिङको प्रभावकारी उपयोग आवश्यक रहेकोमा जोड दिनुभयो।

पर्यटनमैत्री कानुनी संरचना निर्माण, संघ–प्रदेश–स्थानीय तहबीच समन्वय र दीर्घकालीन नीति निर्माणको आवश्यकता औंल्याउँदै उहाँले राष्ट्रिय सभाको अध्यक्षको हैसियतले आवश्यक समन्वय र सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।