शुक्रबार मध्यरातबाट संसद्को पहिलो अधिवेशन अन्त्य, के के भए अधिवेशनमा ?

मूलखबर संवाददाता
काठमाडौं, २८ चैत

शुक्रबार मध्यरातबाट संसद्को पहिलो अधिवेशन अन्त्य भएको छ ।

सिंहदरबारस्थित निर्माणाधीन भवनको मल्टिपर्पोज हलमा आउँदो अधिवेशन पनि चल्नेछन् । याे अधिवेशनमा अस्थायी हलमा ६ वटा बैठक चलेको त्यही हलमा अब कतिवटा बैठक बस्ने भन्ने टुंगो छैन ।

संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाका निम्ति आफ्नै हलको काम नसकिँदासम्म सोही अस्थायी हल नै प्रयोग हुनेछ । पहिलो अधिवेशनमा कुनै पनि सांसदले भवनको काम छिटो सक्नुपर्ने आवाज उठाएको सुनिएन ।

अनौपचारिक कुराकानीमा हल छिटो बनिदिए हुन्थ्यो भन्ने सुनिन्छ । निर्वाचनले दलहरूलाई दिएको म्यान्डेटअनुसार सदनमा दलहरूको स्थान फेरिएको छ । नयाँ अनुहारको उपस्थिति बाक्लो छ । हरेक पटक संसद्मा देखिने अनुहार थोरै मात्रै छन् ।

नयाँ प्रतिनिधिको पहिलो बैठक यही चैत १९ गते बस्यो । दिउँसो २ बजे बसेको बैठकको अध्यक्षता ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीले गरेका थिए । पहिलो बैठकमा दलहरूका शीर्ष नेताले सम्बोधन गरे ।

जहाँ रास्वपाका रवि लामिछाने, कांग्रेसका सांसद भीष्मराज आङ्देम्बे, एमालेका नेता रामबहादुर थापा, नेकपाका सांसद वर्षमान पुन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ, राप्रपाका नेता ज्ञानेन्द्रबहादुर शाही र स्वतन्त्र सांसद महावीर पुनले बोलेका थिए ।

सोही बैठकबाट सभामुखको निर्वाचन चैत २२ गतेका लागि तोकिएको थियो । उक्त बैठकमा गृहमन्त्री सुधन गुरुङले मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश र नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश पेस गरे ।

क्रमशः बैठक र निर्णयहरू चैत २२ मा बसेको दोस्रो बैठकले प्रतिनिधिसभाको सभामुख चयन गर्‍यो । रास्वपाबाट निर्वाचित डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरियो । विपक्षी दलहरूले उमेदवारी नदिँदा काठमाडौं–९ बाट निर्वाचित भएका अर्याल निर्विरोध सभामुख बने ।

तेस्रो बैठक चैत २३ गते बस्यो । एक घण्टा विशेष समय चल्यो । बैठकले २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गर्‍यो । १५ सदस्यीय नियमावली मस्यौदा समिति गठन भयो । मतदाता नामावली अध्यादेश, प्रतिनिधिसभा सदस्य निर्वाचन अध्यादेश र नेपाल विशेष सेवा अध्यादेश स्वीकृत भए ।

चौथो बैठक चैत २४ गते बस्यो । बैठकमा एक घण्टा शून्य समय चलाइयो । उक्त बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त तीन विधेयक टेबल भए—राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, पर्यटन विधेयक र चलचित्र विधेयक ।

पाँचौँ बैठक चैत २५ गते बस्यो । बैठकमा एक घण्टा शून्य समय चलाइयो । उपसभामुख निर्वाचनको मिति चैत २७ का लागि तोकियो । प्रधानमन्त्री बालेन शाहको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले राष्ट्रिय स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन पेस गरिन् ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रस्तुत गरेका थिए । उपसभामुख चयनमा आरोप–प्रत्यारोप शुक्रबार बसेको छैटौँ बैठकले उपसभामुख चयन गरेको छ । श्रम संस्कृति पार्टीबाट रुबीकुमारी ठाकुर उपसभामुख बनिन् ।

२५ वर्षीया ठाकुर रास्वपाको समर्थनमा रास्वपा, कांग्रेस र नेकपा उभिए । एमाले भने तटस्थ रह्यो । राप्रपाले सरस्वती लामालाई उमेदवार बनाएको थियो । रास्वपाले आश्वासन दिएर धोका दिएको आरोप राप्रपाले लगायो । संसद् अधिवेशनको अन्तिम बैठकमा उपसभामुख चयनका क्रममा दलहरूबीच आरोप–प्रत्यारोप भए ।

अधिवेशनको अन्तिम बैठकले विषयगत समितिहरू गठन गर्दै सभापतिको निर्वाचनको मिति पनि तोकेको छ। शुक्रबारको प्रतिनिनिधिसभा बैठकबाट सभामुख अर्यालले आगामी २०८३ साल वैशाख ४ गते सभापतिको निर्वाचन गर्ने गरी मिति तोकेका हुन् ।

त्यसअघि शुक्रबार नै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेका थिए । सम्बोधनअघि बिहीबार नै पौडेलले राति १२ बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गरेका थिए ।