इजरायलद्वारा लेवनानमा सबैभन्दा ठूलो हवाई आक्रमण, २५० भन्दा बढी मानिसको मृत्यु

मूलखबर संवाददाता
काठमाडौं, २६ चैत

अमेरिकाकाे संरक्षणामा इरानसँग लडिरहेकाे इजरायलले लेबनानमा हालसम्मको सबैभन्दा ठूलो हवाई आक्रमण गए राती भएकाे हमलामा २५० भन्दा बढी मानिसको मृत्यु भएको छ । हिज्बुल्लाहसँगको द्वन्द्व सुरु भएयता इजरायलको यो सबैभन्दा घातक हमला हो ।

बुधबार भएको आक्रमणमा २५४ जनाको मृत्यु र १ हजार १०० भन्दा बढी घाइते भएको लेबनानको नागरिक सुरक्षा निकायलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । राजधानी बेरुतमा मात्रै ९१ जनाको ज्यान गएको छ ।

संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले ‘यस्तो नरसंहार अविश्वसनीय र भयावह’ भएको टिप्पणी गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले भने देशभर १८२ जनाको मृत्यु पुष्टि गरेको छ, यद्यपि यो अन्तिम विवरण नभएको उसले जनाएको छ ।