रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले छाडिन् पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टीबाट राजीनामा दिएकी छन्।
उनले साधारण सदस्यसमेत नरहने गरी पार्टीका सबै पद तथा जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन्। हाल पार्टीको केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी शर्माले विज्ञप्ति जारी गर्दै पार्टीभित्र इमानदार र समर्पित व्यक्तिहरूको मूल्यांकन नहुने अवस्था बनेको तथा आर्थिक अनियमितता बढ्दै गएको आरोप लगाएकी छन्।
उनले पार्टीका निर्णयहरू आर्थिक प्रभावबाट निर्देशित हुन थालेको दाबी गर्दै यसले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्य–मान्यतामा आँच पुर्याएको उल्लेख गरेकी छन्। ‘यी सबै गतिविधिको साक्षी भएर अब मौन बस्न सक्दिनँ,’ भन्दै उनले तत्काल प्रभावबाट पार्टी परित्याग गरेको जनाएकी छन्। शर्माको यो निर्णयले मधेश प्रदेशमा रास्वपाको संगठनात्मक अवस्थाबारे प्रश्न उठाएको छ।
यसअघि पनि टिकट वितरण प्रक्रियामा आर्थिक चलखेल भएको आरोप लगाउँदै केही नेताहरूले पार्टी छोडेका थिए। पछिल्लो घटनाले रास्वपाभित्र आन्तरिक असन्तुष्टि बढिरहेको संकेत गरेको राजनीतिक वृत्तमा चर्चा छ। पार्टी नेतृत्वमाथि पारदर्शिता र जवाफदेहिता कायम गर्न दबाब बढ्ने अनुमानसमेत गरिएको छ।




