विचार अनेक भए पनि विकासमा एक हुनुपर्ने : मुख्यमन्त्री बानियाँ

मूलखबर संवाददाता
काठमाडौं

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विचार अनेक भए पनि विकासमा एक हुनुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिको आयोजनामा आज धुलिखेलमा आयोजित ‘तीन तहबीच समन्वय र सहजीकरण’ विषयक अन्तरक्रियामा उहाँले विकास सबैका लागि भए पनि विचारको आधारमा अनेकतालाई अन्यथा मान्न नहुने धारणा राख्नुभयो ।

मुख्यमन्त्री बानियाँले अब स्थानीय तहले प्राथमिकतामा राखेकाबाहेक योजना प्रदेश सरकारले स्वीकार नगर्ने प्रतिबद्धता जनाउनुभयो । “विचारमा अनेकता होला तर विकासमा एकता हुन्छ, जनप्रतिनिधिले नै विकास गर्ने हो । त्यसैले तीन तहका सरकारबीचको सहकार्य, समन्वय र सहअस्तित्वबीचको कानुनअनुसार काम गर्नुपर्छ । प्रदेश सरकारले स्थानीय तहले अगाडि सार्ने योजना स्वीकारेर अगाडि बढ्छ”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री बानियाँले काभ्रेपलाञ्चोक, रोशीको थानसिङबेँसीको पुल, जिल्लामा हरित महिला उद्यम, काभ्रेपलाञ्चोकबाट प्रदेश राजधानी हेटौँडा जोड्ने निर्माणाधीन जनमुक्तिमार्ग, जिल्लाको अन्य सहरी क्षेत्रमा निर्माणाधीन सडकमा बजेट थप्ने विषयलाई प्राथमिकता राख्ने प्रतिबद्धता जनाउनुभयो । यसैगरी उहाँले बनेपा, धुलिखेल र पनौती गरी तीन नगरपालिकामा सञ्चालित एकीकृत खानेपानीलाई व्यवस्थित गर्ने तथा जेनजी आन्दोलनमा जलेको बनेपा नगरपालिकाको भवनलगायत सुरक्षा निकायका भवन निर्माणलगायत विषयलाई पनि प्राथमिकतामा राखेर काम अगाडि बढाउने बताउनुभयो ।

मुख्यमन्त्री बानियाँले सङ्घीयतापछिको अभ्यास क्रममा केही नीतिगत र संरचनागत समस्या देखिनु स्वाभाविक भएको उल्लेख गर्दै ती समस्यालाई संवाद र सहकार्यबाट समाधान गर्नुपर्ने धारणा राख्नुभयो ।