सकियाे सभामुख घिमिरे र उपसभामुख रानाकाे कार्यकाल

मूलखबर संवाददाता
काठमाडौं, १३ पुस

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपभामुख इन्दिरा रानाको आजदेखि कार्यकाल सकिएको छ । संविधानमा उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म अर्थात् आजसम्म सभामुख र उपसभामुखको कार्यकाल रहने व्यवस्था छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १३ र १४ पुसमा समानुपातिकतर्फको बन्दसूची बुझाउने समय तोकेको छ । आयोगको कानुन तथा राजनीतिक महाशाखाका अनुसार बन्दसूची बुझाएपछि उम्मेदवारको मनोनयन गरेको मानिन्छ ।

संविधानको धारा ९१(६)(क) मा भनिएको छ, ‘प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन् ।’ यसैगरी, ऐनको दफा २८(८) मा ‘दलले यस दफाबमोजिम तयार भएको उम्मेदवारको बन्दसूची दफा ७ को उपदफा (३) बमोजिम तोकिएको समयभित्र आयोगमा पेस गर्नुपर्नेछ । यसरी बन्दसूची आयोगमा पेस गरेपछि उम्मेदवारको मनोनयन गरेको मानिनेछ’ भनिएको छ ।