यसपटकको निर्वाचनको लागि कुल मतदाता संख्या १ कराेड ८९ लाख
नेपालमा आजसम्मकाे कुल मतदाता १ कराेड ८९ लाख भएको निर्वाचन आयाेगले जानकारी दिएकाे छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाकाे लागि पछिल्लोपटक थपिएका मतदातासहित मतदाताकाे अन्तिम संख्या सार्वजनिक गर्दै आयाेगले साे जानकारी दिएकाे हाे ।
अन्तिम मतदाता नामावलीमा ९६ लाख ६३ हजार ३ सय ५८ जना पुरूष छन् । ९२ लाख ४० हजार १ सय ३१ जना महिला र अन्य २ सय जना छन् ।
२०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका बेलाभन्दा यसपटक ९ लाख १५ हजार १ सय १९ जना मतदाता वृद्धि भएका छन् । त्यतिबेला १ करोड ७९ लाख ८८ हजार ५ सय ७० जना मतदाता थिए । पछिल्ला तीन वर्षमा ९ लाखभन्दा बढी मतदाता थपिएका हुन् ।
कानुनमा संशोधन गरेर गत असोज र कात्तिकमा मतदाता नामावली संकलन गरिएको थियो । त्यसबेला उल्लेख्य संख्यामा मतदाता थपिएका हुन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी २० फागुनसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरुको विवरणलाई अद्यावधिक गरेर अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको हो । अन्तिम मतदाता नामावलीमा ९६ लाख ६३ हजार ३ सय ५८ जना पुरूष छन् । ९२ लाख ४० हजार १ सय ३१ जना महिला र अन्य २ सय जना छन् ।
अघिल्लो पटकभन्दा पुरूष मतदाताको संख्या ५ लाख २२ हजार ५ सय ५२, महिलाको ३ लाख ९२ हजार ५ सय ५२ र अन्यमा १५ जना थपिएका छन् ।




