राष्ट्रिय सभाकाे निर्वाचनमा २ हजार ४३ जना मतदाता,

मूलखबर संवाददाता
काठमाडौं, ९ पुस

राष्ट्रियसभाकाे रिक्त पदमा हुने निर्वाचनका लागि २ हजार ४३ जना मतदाता रहेको जनाएको छ ।

राष्ट्रियसभामा रिक्त हुन लागेको १८ सदस्यका लाग ११ माघमा निर्वाचन हुँदैछ । राष्ट्रियसभा सदस्य चुन्नका लागि प्रदेशसभा सदस्य, गाउँपालिका उध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् ।

आयोगले बुधबार प्रारम्भिक मतदाता नामावली प्रकाशित गरेको छ । दाबी विरोध लगायतका प्रक्रिया पूरा भएपछि २२ पूसमा अन्तिम नामावली प्रकाशित गरिने आयोगले जनाएको छ । ५ सय ४५ जना प्रदेशसभा सदस्य र पालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुख १ हजार ४ सय ९८ जनाको नामावली आयोगले प्रकाशित गरेको छ ।

७ वटा प्रदेशसभामा ५ सय ५० जना सदस्य छन् । त्यसमध्ये अदालतको आदेश बमोजिम एक जना पदमुक्त छन् । साथै चार जना निलम्बनमा परेका छन् । त्यस्तै, ७ सय ५३ स्थानीय तहमा पदाधिकारीमध्ये एक जनाको निधन भएको र सात जना निलम्बनमा परेका छन् । निधन भएको र निलम्बनमा परेकाको नाम आयोगले मतदाता नामावलीबाट हटाएको छ ।

प्रदेशसभाका सदस्य, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उप्रमुखको मतभार भने फरक फरक रहेको छ । प्रदेशसभा सदस्यको एक मत बराबर ५३ मतभार रहेको छ भने गाउँपालिका र नगरपालिकाका पदाधिकारीको मतभार १९ छ ।

राष्ट्रियसभामा मधेश प्रदेशका ४, कोशी र लुम्बिनी प्रदेशका ३/३ तथा बागमती, गण्डकी, कर्णाली, र सुदूरपश्चिका २/२ जना सदस्यको पदावधि २० फागुनबाट सकिन लागेको हो । संविधानको धारा ८६(३) मा राष्ट्रियसभा सदस्यको पदावधि समाप्त भएर रिक्त हुने स्थानका लागि पद रिक्त हुनुभन्दा ३५ दिन अगावै निर्वाचन सम्पन्न गर्नुपर्ने उल्लेख छ । त्यसैअनुसार २० फागुनमा रिक्त हुने पदका लागि ११ माघमै निर्वाचन हुन लागेको हो । जुन प्रदेशबाट पद रिक्त हुन लागेको हो त्यही प्रदेशका प्रदेशसभाका सदस्य तथा प्रदेशभित्रका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उप्रमुखको मतदानबाट नयाँ सदस्य चुनिएर आउनेछन् ।