छ वटा राजनीतिक दलको दर्ता खारेज, कुन कुन परे ?
निर्वाचन आयोगले छ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगको अभिलेखमा अब १ सय ३७ राजनीतिक दल मात्रै रहने भएका छन् । आयोगले पटक पटक तोकेको जरिबाना नबुझाउने छ राजनीतिक दलको दर्ता खारेज गरेको हो ।
आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले आयोग पदाधिकारीको पुस ८ गतेको निर्णयबमोजिम जरिबाना नबुझाउने दलको दर्ता खारेज गर्ने निर्णय भएको जनाएको छ । दर्ता खारेज भएकामा आमआदमी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली), माओवादी जनमुक्ति पार्टी नेपाल हुन् ।
दर्ता खारेज गर्नुअघि निर्वाचन आयोगले गत मङ्सिर २९ गते ती दललाई ‘खारेज किन नगर्ने’ तीन दिनभित्र स्पष्ट कारणसहित जवाफ पेस गर्न निर्देशन दिएको थियो । चित्तबुझ्दो जवाफ नआएपछि आयोगले कारबाहीस्वरूप दर्ता खारेज गरेको हो ।
दोर्जे लामा अध्यक्ष रहेको नेपाल राष्ट्रवादी पार्टी २०७३ मङ्सिर २० मा दर्ता भएको हो । आधुनिक नेपाल समाजवादी पार्टी २०७३ मङ्सिर, आमआदमी पार्टी २०७३ चैत, माओवादी जनमुक्ति पार्टी नेपाल २०७६ चैत, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक) २०७८ असार, नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली) २०७८ फागुनमा दर्ता भएका हुन् । यी दललाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ (४) बमोजिम कारबाही गरिएको आयोगले जनाएको छ ।




