जेनजी आन्दोलनमा जलेकामध्ये ७ हजार ५ सय मिसिल प्राप्त
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जलेकामध्ये सात हजार पाँच सय मिसिल सर्वोच्च अदालतले प्राप्त गरेको छ । भदौ २३ गतेसम्म कायम रहेका कुल २४ हजार २३४ मुद्दामध्ये २० हजार ३४ थान मुद्दाका मिसिल जलेका छन् ।
चालु मुद्दाका चार हजार दुई सय मिसिल भने सुरक्षित छन् । अभिलेखका एक लाख ९७ हजार थान मिसिल जलेका छन् । सर्वोच्चले कार्यविधि बनाएर मङ्सिर १ गतेदेखि सरोकारवालासँग मिसिल माग गरेको थियो । पुस मसान्तसम्मको समय अदालतले पक्षहरूलाई दिएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आइतबारसम्म सात हजार ५३५ थान मिसिल प्राप्ति भएका छन् । सर्वोच्च अदालत परिसरमा रहेको सङ्कलन कक्षबाट छ हजार ८१० र महान्यायाधिवक्ता कार्यालय परिसरमा भएको सङ्कलनमा ७२५ थान मिसिल आइतबारसम्म प्राप्त भएका छन् । कोइरालाका अनुसार प्राप्त मिसिलको प्रमाणीकरण पनि सँगसँगै भइरहेका छन् । आन्दोलनपछि अदालतमा सेवा प्रवाह रोकिएको अवधिमा तारेख नलिएका आठ हजार १७ ले यसबिचमा तारेख लिएको पनि कोइरालाले बताउनुभयो ।




