दोश्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल पुस ११ देखि शुरू हुँदै

मूलखबर संवाददाता
चितवन, ७ पुस

नेपालकाे राजमार्गमा पर्ने प्रमुख बजारहरूमध्ये चर्चामा रहने मुग्लिङ बजारमा यही पुस ११ गतेदेखि ईच्छाकामना सुन्तला महाेत्सव तथा फुड फेस्टिबल हुँदैछ  ।

साे सम्वन्धी जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा आयाेजकहरूले सम्पूर्ण तयारी पसरा हुन लागेकाे बताएका छन् ।

आयाेजकका अनुसार महाेत्सव २०८२ पौष ११ गते देखी १५ गतेसम्म बिहान १०ः०० बजेदेखी राती ०८ः०० बजेसम्म मुग्लिङ बजारमा आयोजना हुनेछ ।

आयाेजकले मुग्लिङ बजारले देशव्यापी रुपमा आर्जन गरेको साखलाई निरन्तरता दिने र कृषि उपजलाई होटल व्यवसायसँग जोड्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागेकाे बताएका छन् ।

इच्छाकामना गाउँपालिकाको मुख्य प्रबद्र्धन सहयोग, चितवन उद्योग संघ, होटल व्यवसायी संघ, चितवनको संरक्षकत्वमा चितवन उद्योग संघ इच्छाकामना समिति र होटल व्यवसायी संघ इच्छाकामना इकाइ समितिको आयोजनामा दोश्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२ हुने भएको हाे।

५० भन्दा बढी स्टल रहने, ५० हजारले महाेत्सव अवलोकन गर्ने 

चितवन उद्योग संघ, इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले प्रेस विज्ञप्ति मार्फत कार्यक्रमको जानकारी गराउनु भएको थियो । महोत्सवका माध्यमबाट मौलिक स्थानीय तथा राष्ट्रिय परिकारका विविध फुड स्टलहरू, हरेक दिन कम्तीमा एक जना राष्ट्रिय तथा चर्चित कलाकारद्वारा विशेष प्रस्तुति तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति, उत्कृष्ट सुन्तलाको प्रदर्शनी तथा सुपथ मूल्यमा बिक्री वितरण गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । मेलामा सुन्तला महोत्सव व्यवस्थापनको जिम्मेवारी चितवन उद्योग संघ इच्छाकामना समिति र फुड फेस्टिवल व्यवस्थापनको जिम्मेवारी होटल व्यवसायी संघ, इच्छाकामना इकाई समितिले लिएका छन् । महोत्सवमा होटल तथा रेस्टुरेन्ट व्यवसायको प्रचार भई भविष्यमा ग्राहक संख्यामा वृद्धि हुने, इच्छाकामना लगायत छिमेकी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने, स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा सम्वद्र्धन हुने, करिब १०० जना स्थानीय सुन्तला कृषकले आफ्नो उत्पादनको प्रत्यक्ष लाभ लिने, स्थानीय स्तरमा आपसी भाइचारा र व्यावसायिक सञ्जाल निर्माण हुन गई सम्बन्ध विस्तार हुने लक्ष्य लिइएको विज्ञप्तिमा जनाइएको छ ।

महोत्सवको दोश्रो दिन व्यवसायिक सुन्तला खेतीको सम्भावना, अवसर र चुनौती विषयक गोष्ठी कार्यक्रम सञ्चालन गरिने छ । कार्यक्रममा राष्ट्रिय फलफूल विकास केन्द्र, कृषि विकास कार्यालय, चितवन, सुन्तला विज्ञ, सुन्तला उत्पादन गर्ने कृषक लगायतका सरोकारवाला निकायहरुको सहभागिता रहनेछ । मेला अन्तर्गत इच्छाकामना गाउँपालिकाको सिफारिसमा उत्कृष्ट व्यवसायिक सुन्तला कृषकलाई सम्मान समेत गरिनेछ । निःशुल्क प्रवेश रहेको महोत्सवमा सुन्तला तथा होटलका गरी करीब ५० भन्दा बढी स्टलहरु रहने मेलामा ५० लाख बराबरको कारोबार हुने अनुमान गरिएको छ । भने, मेलामा करीब ५० हजारले अवलोकन गर्ने लक्ष्य लिइएको विज्ञप्तिमा उल्लेख छ ।

चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले स्वागतसँगै महोत्सवको विषयमा जानकारी गराउनु भएको थियो । अध्यक्ष घिमिरेले नेपालको मध्य भागमा अवस्थित इच्छाकामना गाउँपालिका र विशेषगरी मुग्लिङ बजार, नेपालकै एक प्रमुख “ट्रान्जिट हब” र खानाको गन्तव्यको रूपमा रहेको र हजारौं यात्रुहरूको आवागमन हुने हुँदा यस क्षेत्रको आर्थिक विकाससँगै सुन्तलालाई राष्ट्रिय बजारमा चिनाई सुन्तलालाई राष्ट्रिय फलफूलको रुपमा घोषणा गर्नको लागि उपयुक्त माध्यम हुने बताउनुभयो ।

त्यस्तै, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले इच्छाकामना लगायत छिमेकी गाउँपालिकामा उत्पादित सुन्तलाको प्रचार–प्रसार गरी यसलाई राष्ट्रिय स्तरमा चिनाउने, कृषक र उपभोक्ताबीच सीधा सम्पर्क स्थापित गराई छोटो वितरण माध्यम मार्फत र कृषकलाई उचित मूल्य दिलाउने आधार तयार गरी सुन्तला कृषिकलाई व्यवसायिक सञ्जालमा जोडी दिगो उत्पादन लाग्न प्रेरित गर्ने र सुस्त भएको बजारलाई महोत्सवको माध्यमबाट आर्थिक रूपमा चलायमान बनाउन सहयोग पुग्ने समेत बताउनुभयो ।

त्यसैगरी, होटल व्यवसायी संघ चितवनका अध्यक्ष ऋषिकेश अर्यालले महोत्सवको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षण गरी स्थानीय होटल व्यवसायीहरूलाई आफ्ना परिकार पस्कने, स्वच्छ र स्वस्थ खानाको प्रवद्र्धन गर्ने तथा स्थानीय मौलिक खानालाई “ब्रान्डिङ” गर्न टेवा पुग्ने बताउनुभयो ।

इच्छाकामना क्षेत्रको कृषि, पर्यटन र व्यवसाय विकासमा कोसेढुङ्गा साबित हुने विश्वासका साथ स्थानीय उत्पादनलाई माया गर्न र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सञ्चालन हुने दोश्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२ को मुख्य प्रायोजकको रुपमा याक बु्रईङ कम्पनी र सहयोगी संस्थाको रुपमा मनकामना दर्शन प्रा.लि.रहेका छन् । चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई होटल व्यवसायी संघ इच्छाकामना इकाइ समितिका अध्यक्ष पुजन भण्डारीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।