एमालेकाे पाेखरेल पक्षीय भेला : समर्पण स्वीकार्य छैन- पाेखरेल

मूलखबर संवाददाता
काठमाडौं, ५ पुस २०८२

नेकपा एमालेकाे महाधिवेशनमा फरक प्यानल बनाएर निर्वाचनमा हाेमिएकाे र पराजित वरिष्ठ उपाध्यक्ष इश्वर पाे रेलकाे समुहले सहि विचारकाे लागि समर्पण नस्वीकार्ने निष्कर्ष निकालेकाे छ ।

निर्वाचनमा विजयी केपी ओलीले केन्द्रीय समिति बैठक गरेपछि आयाेजित पाेखरेल समुहकाे बैठकमा ओलीकाे दम्भ झन बढेको विश्लेषण गर्दै विचार अनुसारकाे व्यवहार हुनुपर्ने बताएको छ ।

बैठकमा अध्यक्षका प्रत्याशी पाेखरलले भने- ‘यो विभाजनको कुरा होइन । तर, यो सही विचारका लागि समर्पण पनि मञ्जुरी छैन । हामी विभाजनको विपक्षमा छौं, तर समर्पण स्वीकार्य छैन,’ पोखरेलले स्पष्ट भनेका छन्, ‘हाम्रा मुद्दालाई मर्न नदिन, अघि बढाउन र सफलताको शिखर चुम्नका लागि म कमरेडहरूलाई अघि बढ्न आग्रह गर्न चाहन्छु ।’

उनले केही कुरामा डराउनुपर्ने अवस्था सिर्जना भएको जिकिर गरे । ‘डराउनुपर्ने दुईवटा कुरा देखिन्छन् । ‘म भइँन भनेँ पार्टी हुँदैन, के भनेको यो ? म भइनँ भने पार्टीलाई कसले चलाउँछ ? यो कति डरलाग्दो कुरा हो ?,’ पोखरेलले भनेका छन्, ‘झट्ट हेर्दा यो सामान्य सुनिन्छ, तर यो डरलाग्दो चिज हो । यो डरलाग्दो चिजबाट पार्टीलाई कसरी बचाउने ? हो आजको चुनौती यही हो ।’

पार्टीभित्र विचार एउटा तर व्यवहार अर्कै हुन खोजेकोमा उनले आफ्नो चिन्ता रहेको सहभागीलाई सुनाए । पार्टीलाई भीडमा नभइ शक्तिमा रुपान्तरण गर्न चाहेको समेत उनको भनाइ छ ।

‘हामी के देख्दैछौं भने नेकपा एमाले व्यवस्थित विचार भएको पार्टी हो । तर, विचार एउटा व्यवहार अर्कै भयो भने के हुन्छ ? विसंगतिहरू प्रकट हुन थाल्छन् । विचार एउटा, व्यवहार अर्कै अर्कै हुन खोजिरहेको छ । यो चिज हुन हुँदैन भनेर हामी रोक्न चाहन्छौं । पार्टी भीडमा होइन शक्तिमा रुपान्तरण गर्न चाहन्छौं,’ पोखरेलले भेलामा भने ।

आफूले कहिल्यै गल्ती नगर्ने र आफूमाथि प्रश्न उठाउने सही होइनन् भन्ने भाष्य पार्टीमा स्थापित हुन नहुने पोखरेलको भनाइ छ ।

‘मान्छेबाट कहिलेकाहीँ कमी कमजोरी हुन्छन् । ती कमीकमजोरीलाई स्वीकार गर्नुपर्ने हाम्रो शैली हो । तर, ती कमजोरी भयो भने पनि मैले कहिल्यै कमजोरी गर्दिनँ, म कहिल्यै गल्ती गर्दिनँ, म गल्ती गर्नेवाला होइन, मैले गल्ती गर्‍यो भनेर भन्यौ भने तिमीहरू मुर्ख हौ भन्ने हिसाबले हिंडियो भने के हुन्छ ? त्यो दुर्भाग्य हुन्छ । हो त्यही दुर्भाग्य आज हामी भोग्न बाध्य छौं,’ पोखरेलले भने ।