रास्वपा सभापति लामिछानेलाई धराैटीमा रिहा गर्न अदालतकाे आदेश, आज रिहा हुने

मूलखबर संवाददाता
काठमाडौं, ४ पुस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले धरौटीमा छाड्न आदेश गरेपछि उनी थुनामुक्त हुने भएका छन्।

लामिछानेलाई आज थुनामुक्त गर्ने तयारी छ । तुलसीपुर उच्च अदालत बुटवलले हिजो थुनामुक्त गर्न आदेश दिए पनि लामिछाने रूपन्देही जिल्ला अदालतमा स्वयं उपस्थित भएर कागज गर्नुपर्ने भएकाले आज मात्रै थुनामुक्त गर्न लागिएको हो ।

धरौटीमा थुनामुक्त हुने भए पनि उनीविरूद्ध सहकारी ठगी तथा सांगठनिक अपराध, सम्पत्ति शुद्धीकरण जस्ता मुद्दा विभिन्न अदालतमा विचाराधीन नै छन्।

लामिछानेलाई तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको साउन २६ को आदेश बदर गर्दै बिगोबराबरको बैंक जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश दिएको छ । उच्च अदालतको आदेशको सक्कल मिसिल आज रूपन्देही जिल्ला अदालत भैरहवा पुगेपछि थुनामुक्त गर्ने प्रक्रिया शुरू हुनेछ ।

अदालतले उच्चको आदेशबमोजिमको बिगोको ग्यारेन्टी र पछि अदालतबाट फैसला हुँदा बिगोको हकमा थप दायित्व सिर्जना गरेमा तिर्न बुझाउ मञ्जुर भए त्यसको कागज गराई थुनामुक्त गर्न सर्तसहितको आदेश गरेको छ । त्यसमा रवि लामिछाने स्वयं उपस्थित भएर मञ्जुर भएको कागज गरेपछि तारेख लिएर थुनामुक्त हुनुहुनेछ ।

अदालतको आदेशअनुसार रवि लामिछानेले यसअघि बुझाएको १ करोड धरौटी उच्च अदालतले स्वीकार गरेको छ । त्यो बाहेकको २ करोड ७४ लाख ८४ हजारको बैंक ग्यारेन्टी पनि स्वीकार गरेको छ । त्यसपछि सिर्जना हुने दायित्व पनि रवि लामिछाने तिर्न तयार हुनुपर्ने सर्त र रवि लामिछाने विदेश यात्रा गर्नु पर्ने भएमा त्यसको पूर्वजानकारी अदालतलाई दिनुपर्ने पनि आदेश छ ।

यस्तो अवस्थामा लामिछानेले आउने चुनावमा भाग लिन पाउँछन् कि पाउँदैनन् भन्ने धेरैलाई चासो छ।

संविधान र कानुनी प्रावधान हेर्दा आउने चुनावमा सांसद पदका लागि लड्न अहिलेसम्म रवि लामिछाने अयोग्य छैनन्।