जेनजी आन्दोलनका सहिदः अरुको सहारामा शिक्षा लिएका बुढाको सपना अधुरै
जिल्लाको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटामा २३ वर्षीय ओब्जन बुढाको खरले छाएको घर छ । जेनजी आन्दोलनका क्रममा गोली लागेर निधन हुनुभएका उहाँका बुबा–आमा पुत्र वियोगको पीडा सहेर त्यही घरमा बस्नुहुन्छ । सामान्य कृषि पेशा गरेर जीविकोपार्जन गर्दै आएको यो परिवारमा अहिले छोराको अल्पायुमै निधनसँगै परिवारमा भविष्यको अँध्यारोले ढाकेको छ ।
सामान्य साक्षर ओब्जनका बुबा मणिपाल बुढाले भन्नुभयो, “आन्दोलनअघि छोराले फोन गरेर अब दुई वर्षपछि घर फर्किने कुरा सुनाएको थियो, कानुन पढेर अधिवक्ता बन्ने छोराको सपना थियो तर कहिल्यै नफर्किने गरी गयो । छोरालाई वकिल बनेको देख्ने सपना पनि सदाका लागि समाप्त भयो ।” ओब्जन उहाँको दोस्रो सन्तान हुनुहुन्छ ।
गाउँमै रहेको रुपाली आधारभूत विद्यालयमा कक्षा ३ सम्म अध्ययन गर्नुभएका ओब्जनले गाउँमा माध्यामिक तहको विद्यालय नभएपछि बाजुराकै कोल्टी पुगेर कक्षा ८ सम्म अध्ययन गर्नुभयो । कोल्टीमा बसाइको समयमा कोठा भाडासमेत तीर्नसक्ने आर्थिक अवस्था नभएपछि छिमेकी जिल्ला मुगुकी शिक्षिका शारदा शाहीको घरमा सहारा लिएर पढ्न थाल्नुभयो ।
शिक्षिका शाहीको घरमा बिहान–बेलुका घरायसी काम सघाउने र दिउँसो विद्यालय जाने गर्नुहुन्थ्यो बुढाले । घरमा आश्रय दिएर राख्नुहुने शिक्षिका शाहीको बसाइ काठमाडौँ हुन थालेपछि बुढा पनि उहाँसँगै छ वर्षअघि माध्यमिक र उच्च शिक्षा हासिलका लागि काठमाडौँ पुग्नुभयो ।
ओब्जनका दाजु कपुर बुढाले भन्नुभयो, “भाइले एसइई र कक्षा १२ सम्मको अध्ययन अर्काको सहारामा पढ्न पाएपछि आफैँ काठमाडौँमा अलग कोठा भाडामा लिएर उच्च शिक्षा अध्ययन गरिरहेको छ महिना भएको थियो, जेनजी आन्दोलनमा निधन भयो ।” उहाँलाई आश्रय दिनुभएका शिक्षिका शाहीको परिवारिक र अन्य कारणले उहाँको घरमा बस्न असजिलो भएपछि बुढा अलग्गै बसेर अध्ययन गर्दै हुनुहुन्थ्यो । अरुको सहाराबाट अलग भएपछि बुढालाई आर्थिक समस्या थपिन थालेको थियो ।
क्याम्पसको पढाइ शुल्क, कोठा भाडा र खाना खर्चको भार थपिन थालेपछि उहाँले घरमा फोन गरेर आमा बुबा र दाजुलाई आफ्नो विदेश जाने योजना सुनाउनुभएको थियो । उच्च शिक्षा हासिल गरेर देशमै रोजगारी गर्ने इच्छा भएर पनि कमजोर आर्थिक अवस्थाका कारण काठमाडौँको बसाइ थप कठिनाई हुन थालेपछि उहाँको विदेश जाने योजना बनेको थियो ।
पहिले देशमै रोजगारी गर्ने र गाउँमै बसेर समाज सेवा गर्ने सोच पनि उहाँको थियो । पढाइपछि अधिवक्ता बनेर न्याय नपाएर पीडित भएकालाई न्याय दिलाउने योजना बनाएका बुढाले आन्दोलनको दुई दिनअघि भदौ २१ गते घरमा फोन गरेर विदेश जाने खबर सुनाउनुभयो । उहाँको विदेश जाने योजना सुनेर छिमेकी र आफन्तजनमा पनि चिन्ता थपियो । गाउँमा मिजासिलो स्वभाव र हरेक सामाजिककार्यमा सक्रिय भएर लाग्ने बुढाको विदेश जाने योजनाले उहाँका बुबाआमा त्यति खुशी हुनुभएको थिएन । पढाइ सकेपछि सरकारी जागिर खाएर घरको आर्थिक जिम्मेवारी बहन गर्ने आशमा बसेका घरपरिवारका सदस्यलाई उहाँको विदेश जाने योजनाले थप चिन्तित बनायो ।
निधनको खबर पाउँदा बुढाको परिवार शोकमा डुब्यो, छरछिमेकमा सन्नाटा छायो । बाजुरा जस्तो भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा बसिरहेका उहाँका बुवाआमालाई छोराको लाशको मुख हेर्न काठमाडौँ जाने कुरा भयो तर काठमाडौँ जानसमेत उहाँहरुलाई आर्थिक अभाव थियो । आर्थिक समस्या भएर पनि बुढाका बुवाआमा अरुसँग सहयोग मागेर नेपालगञ्ज पुगे पनि नेपालगञ्जमा जहाजको टिकट काट्न नपाउँदा रोकिनुप¥यो । सहयोगी हातले हवाइजहाजको टिकट काटेर आफूहरुलाई काठमाडौँ पु¥याइदिएको ओब्जनकी आमा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “छोरा आन्दोलनमा गोली लागेर मरे पनि मलाई शोकाकुलको अवस्थामा सान्त्वना दिने अरु थुप्रै छोरा जन्मिएको पाएँ, आफू शोकमा परे पनि हजारौँ छोराले सान्त्वना दिँदा चित्त बुझाएर बसेकी छु ।”
जेनजी आन्दोलनमा मृत्यु भएका ओब्जन बुढासहितलाई सरकारले शहिद घोषणा गरेर रु १५ लाख राहत दिएको छ । बुबा मणिपालले पीडा पोख्दै थप्नुभयो, “पढाइपछि अधिवक्ता बनेर पीडितलाई न्यायदिने छोराको सपना अधुरै रह्यो ।” पहिले मणिपाल घरको कृषिको काम सकाएर छ महिनाका लागि कामको खोजीमा भारत पुगेर पनि कमाइ गर्नुहुन्थ्यो । ओब्जनको निधनपछि उहाँका बुबालाई सरकारले चितवनको आयल निगममा नोकरी पनि दिएको छ ।
तीन भाइ र आमा बुवालाई आर्थिक अभावले कुनै समस्या आउन नदिने बाचा गरेको भाइको निधनपछि आफूहरुको आस पनि मरेको ओब्जनका दाजु कपुरराज बताउनुहुन्छ । भाइ प्रज्वललाई देशकै अब्बल खेलाडी बनाउने ओब्जनको योजना पनि अब सपना भएको छ । प्रज्वलले भन्नुभयो, “दाइले विदेशमा पुगेर हुने कमाइपछि काठमाडौँँमा आफूलाई खेलकुद सिकाउन लगानी गरेर देशकै खेलाडी बनाउने योजना पनि थियो, फुटबल र क्रिकेटमा रुचि भएकाले दाइले एसइई पास गरेपछि काठमाडौँमा खेलको प्रशिक्षण लिनुपर्छ भन्नुभएको थियो तर निधनपछि अब आस र भरोसा टुट्यो ।”
आफूलाई पढ्न प्रेरित गर्ने दाइको माया भने अब कहिल्यै नपाउने गरी सकिएको उहाँ बताउनुहुन्छ । जेनजी आन्दोलनको प्रदर्शनमा सहभागी हुनुभएका यहाँको बुढीनन्दा नगरपालिकाको पाण्डुसैनका साजन रोकाया पनि घाइते हुनुभएको थियो । उहाँ पनि पढाइको सिलसिलामा काठमाडौँमा हुनुहुन्थ्यो ।-रासस




