कांग्रेसले आगामी चुनावको उमेदवारको लागि बनायो यस्तो मापदण्ड

मूलखबर संवाददाता
काठमाडौं, १८ मंसिर

आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधिसभाको निर्वाचनमा उमेदवार बनाउने विषयमा नेपाल िकांग्रेसले नयाँ मापदण्ड बनाएको छ । नेपाली कांग्रेसले अहिले राष्ट्रिय सभा सांसद रहेका तथा प्रदेश सभामा सांसद रहेकाहरूको नाम उम्मेदवारका रूपमा सिफारिस नगर्न निर्देशन दिएको छ।

कांग्रेसले प्रतिनिधिसभा मात्रै होइन राष्ट्रिय सभाको माघ ११ गते हुने निर्वाचनका लागि पनि बहालावाला सांसदको नाम सिफारिस नगर्नु भनेर निर्देशन गरेको बताइएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ हरेक प्रतिनिधि सभा क्षेत्रबाट एक महिलासहित ३ जना सम्भावित उम्मेदवारको नाम सिफारिस गर्न कांग्रेसले निर्देशन गरेको छ ।

यसरी नाम सिफारिस गर्दा २०७९ सालमा प्रतिनिधि सभातर्फ समानुपातिक सांसद रहेकाहरूको नाम पनि समावेश गर्न नपाइने कांग्रेसले जनाएको छ।

साथै राष्ट्रिय सभा र प्रदेश सभा सांसदको नाम पनि अब हुने निर्वाचनका लागि उम्मेदवारका रूपमा सिफारिस गर्न पाइने छैन।

साथै कांग्रेसबाट टिकट लिई २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको नाम पनि उम्मेदवारका रूपमा सिफारिस नगर्न कांग्रेसले भनेको छ।