अपांगकाे सम्मानजनक जीवनयापनका लागि वातावरण निर्माण गराैं : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले अपांगकाे सम्मानजनक जीवनयापनका लागि वातावरण निर्माण गर्न सरकारकाे ध्यानाकर्षण गरेका छन् ।
३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा शुभकामना दिँदै प्रचण्डले साे बताएका हुन् ।
शुभकामनामा भनिएकाे छ- देश–विदेशमा रहनुभएका सम्पूर्ण अपाङ्ग समुदायमा हार्दिक सम्मान तथा शुभकामना व्यक्त गर्दछु।
आजको दिन केवल संयुक्त राष्ट्र सङ्घद्वारा सन् १९९२ मा घोषणा गरिएको दिवस मनाउने औपचारिकता मात्र होइन । नेपालको संविधानले प्रत्याभूत गरेका अधिकार र अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन २०७४ को पूर्ण कार्यान्वयनमार्फत सम्मानजनक, समावेशी र अर्थपूर्ण सहभागिता सुनिश्चितताका लागि प्रतिवद्धता दोहोर्याउने अवसर पनि हो।
हाम्रो राजनीतिक यात्राका कठिन मोडहरू जनयुद्धलगायत परिवर्तनका विभिन्न निर्णायक आन्दोलनहरूमा विशिष्ट योगदान दिँदै अपाङ्ग बनेर पनि राष्ट्र, समाज र न्यायका पक्षमा उभिनुभएका हजारौँ साथीहरूको योगदान अमूल्य छ। उहाँहरूको साहस, दृढता र समर्पणले हामीलाई निरन्तर अघि बढ्न प्रेरणा दिएको छ।
देश अहिले राजनीतिक, आर्थिक र सामाजिक चुनौतीको अवस्थामा छ। यस परिस्थितिमा अपाङ्ग नागरिकको अधिकार, अवसर र सम्मानलाई राष्ट्रनिर्माणको केन्द्रमा राख्नु हाम्रो साझा जिम्मेवारी हो। समावेशी विकास, पहुँचयोग्य पूर्वाधार, उपचार, शिक्षा–रोजगारमा समान अवसर र सम्मानजनक जीवनका आधारहरूमा टेकेर नै हामी सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्न सक्छौँ।
यस अवसरमा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिमाथिको सामाजिक विभेद अन्त्य गर्न, उपचार र जीविकोपार्जनको ग्यारेन्टी सुनिश्चित गर्न र सम्मानजनक जीवनयापनका लागि आवश्यक वातावरण निर्माणका लागि सबै पक्षलाई हातेमालो गर्न हार्दिक आग्रह गर्दछु।
१७ मंसिर,२०८२
ने.सं. ११४६ थिंलाथ्वः १३, बुधबार
…………………………….
पुष्पकमल दाहाल ‘प्रचण्ड’
संयोजक
नेपाली कम्युनिष्ट पार्टी




