छोराछोरी र नातीनातिनासँग सिक्न थालौं : प्रचण्ड

मूलखबर संवाददाता
बिराटनगर, १५ मंसिर

नेपाली कम्युनिष्ट पार्टीकाे संयाेजक पुष्पकमल दाहाल प्रचण्डले आफ्ना छोराछोरी र नातीनातिनालाई समय दिन  कार्यकर्तालाई सुझाव दिएका छन् । उनले सोमबार विराटनगरमा आयाेजना गरेकाे एकता सन्देशसभामा सम्बाेधन गर्दै साे बताएका हुन् ।

धनगढी, दाङ र पोखरा हुँदै विराटनगरमा भएकाे सन्देश सभामा प्रचण्डले आफ्ना छोराछोरी र नातीनातिनालाई समय दिन पनि कार्यकर्तालाई आग्रह गरे । ‘छोराछोरी नातीनातिनाले के पढ्दैछन्, के हेर्देछन् ध्यान दिन पर्‍यो, हेर्न पर्‍यो सम्वाद गर्न पर्‍यो, हामीले वास्तै गर्न छाडेका रहेछौं यो बिचमा,’ उनले भने, ‘उनीहरूको संसार अर्कै (प्रविधिमा) भइसकेको छ, हामीसँग ठूलो ग्याप रहेछ, यहीँ ग्यापले गर्दा स्थिति धेरै नै गम्भीर भएको देखियो नि ।’

उनले छोराछोरी र नातीनातिनासँग सिक्नु पर्ने पनि बताए । ‘छोराछोरी र नातीनातिनासँग सिक्न थालौं, हामीभन्दा धेरै सिपालु छन् उनीहरू,’ उनले फेरि भने, ‘हामी त धेरै पछि परेका छौं ।’

प्रचण्डले वर्तमान सरकारले तोकिएकै मितिमा निर्वाचन गर्नु पर्ने बताए । ‘सरकार गठनमा हाम्रो पनि भूमिका छ, सरकारले बुझोस् कुनै आग्रह पूर्वाग्रह नराखोस्, तोकिएकै मितिमा चुनाव हुनुपर्छ,’ उनले भने ।

उनले आन्तरिम सरकारका मन्त्रीलाई दीर्घकालीन असर गर्न काम नगर्न आग्रह गरे । दीर्घकालीन काम गर्ने म्यान्डेट सरकारलाई नरहेको उनको भनाइ थियो । प्रचण्डले राष्ट्रको रक्षाका लागि राष्ट्रिय फौज बनाउनुपर्ने पनि बताए ।