गैरआवासीय नेपाली संघ एकीकृत, १० बुँदे सहमतिपत्रमा हस्ताक्षर

मूलखबर संवाददाता
काठमाडौं, १५ मंसिर

गैरआवासीय नेपाली संघ एकीकृत भएको छ । करिब चार वर्षदेखि विवादमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) को अलग–अलग कार्यसमितिका नेतृत्व गरेका अध्यक्ष बद्री केसी र महेशकुमार श्रेष्ठ पक्षले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आइतबार १० बुँदे एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेर एकीकृत भएका हुन् ।

दुवै पक्षबीच आउँदो १७ अप्रिलभित्र एकता महाधिवेशनका रूपमा १२ औं महाधिवेशन गर्ने सहमति भएको छ । एकता महाधिवेशनलाई पारदर्शी र विश्वसनीय बनाउन ११ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको छ । स्टेरिङ कमिटीका सदस्य भने महाधिवेशनमा उम्मेदवार बन्न पाउने छैनन् । ‘महासचिव गौरीराज जोशी र बाबुराम लामालाई पूर्ण अधिकार दिने गरी एक अलग सिस्टम म्यानेजमेन्ट कमिटी गठन गर्ने’ सहमतिपत्रमा उल्लेख छ ।

विगतका परिस्थितिका कारण विभिन्न अध्यक्षहरूको नेतृत्वमा बनेका समितिहरू (डा. बद्री केसी, कुल आचार्य, रविना थापा, विनोद कुँवर र राजेन्द्रकुमार शर्मा) लाई पूर्वकार्यसमितिका रूपमा अभिलेखित गर्न दुवै पक्ष सहमत भएका छन् ।

सहमतिपछि गत मे ३–४ मा पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशनबाट निर्वाचित श्रेष्ठ नेतृत्वको कार्यसमितिले बालुवाटारस्थित एनआरएनएको सचिवालयमा प्रवेश पाएको छ ।

त्यस्तै श्रेष्ठ पक्षले १७–२० अक्टोबर २०२३ मा सम्पन्न एघारौं महाधिवेशनबाट निर्वाचित केसी नेतृत्वको कार्यसमितिलाई पनि आधिकारिक रूपमा स्वीकार गरेको छ ।