कांग्रेस विवाद : महाधिवेशन वैशाख अन्तिम साता गर्ने संस्थापन पक्षको प्रस्ताव

मूलखबर संवाददाता
काठमाडौं, १७ कात्तिक

नेपाली कांग्रेसमा महाधिवेशनकाे विषयले विवाद सिर्जना भएकाे छ । पार्टीको संस्थापन पक्षको भेलाले १५ औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने प्रस्ताव गरेको छ । भने असन्तुष्ट पक्षाले भने फागन अगावै महाधिवेशन गर्नुपर्ने माग गरेकाे छ ।

सोमबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने प्रस्ताव भोलि बस्ने केन्द्रीय समिति बैठकमा लाने निर्णय गरेको हो ।

संस्थापन इतरका नेताहरूले भने प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नत्र भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्दै आएका छन् । उनीहरूले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर समेत कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन् ।

संस्थापन पक्षको भेलाले २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनमा भाग लिनका लागि पार्टीका सबै तहलाई सक्रिय रहन आहवान गर्ने निर्णय समेत गरेको छ ।